राष्ट्रपतिबारे निर्णय लिन माओवादीको पदाधिकारी बैठक बस्दै


काठमाण्डु – सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न अपरान्ह ४ बजे पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बस्न लागेको माओवादी स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवले जानकारी दिए ।

फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ ।

माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा उठाएको छ । सरकार गठनताका भने गठबन्धनमा एमालेलाई राष्ट्रपति दिने सहमतिमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका थिए ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर कांग्रेसले पनि राष्ट्रिय सहमतिमा जोड दिँदै राष्ट्रपतिमा तीब्र चासो देखाइरहेको छ । कांग्रेस नेतृत्वमा चुनावी गठबन्धन बनेकाले त्यही गठबन्धनको बलमा माओवादीले राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई समर्थन गर्ने कांग्रेस नेताहरूले बताउँदै आएका छन् ।

२५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ। फागुन १० गतेसम्म माओवादीलाई कांग्रेस उम्मेदवारको पक्षमा उभ्याउन कांग्रेस नेताहरूले प्रयास गरिरहेका छन्।

पुस १० मा सात दलीय गठबन्धनबाट सरकार बन्दा राष्ट्रपति नेकपा एमालेले पाउने सहमति भएको थियो। तर पुस २६ मा कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि राष्ट्रपतिका विषयमा नयाँ बहस भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement