आज र भोलि ठुलो वर्षाको सम्भावना

आज र भोलि ठुलो वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भूभाग नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केहि स्थानमा तथा सुदूरपश्चिमको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आइतबार र सोमबारदेशका केही ठाउँमा आरी घोप्टे र मुसलधारे वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकीका एकरदुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका थोरै ठाउँमा तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रको एक–दुई ठाउँमा ठूलोदेखि अति ठूलो वर्षाको सम्भावना छ । साथै तीन वटा प्रदेश कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रका एक–दुई ठाउँमा पनि अति ठूलो पानी पर्ने सम्भावना छ ।

राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका घेरै र बाँकी हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

लगातारको वर्षासँगै आकस्मिक बाढी, पहिरो, नदी कटान, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्ने भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन विपद् प्राधिकरणले अनुरोध गरेको छ । विशेष गरी खोला, खोल्सा र नदी आसपासको क्षेत्र, पहिरोको जोखिम भएका ठाउँका नागरिक तथा नदी किनारका बस्तीमा बसोबास गर्ने नागरिकलाई थप सतर्क रहन आग्रह गरिएको छ ।

साथै, वर्षा र बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता १२३४, नेपाल प्रहरी १०० तथा सशस्त्र प्रहरी बल १११४ नम्बर मोबाइलमा सुरक्षित राख्न र आवश्यकता परे तत्काल सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

साथै, जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अद्यावधिक पूर्वानुमान तथा चेतावनीको नियमित जानकारी लिन पनि सबैलाई आग्रह गरेको छ ।