मन्त्रिपरिषद बैठक छलेर सचिवको सरुवा भएपछि माओवादी मन्त्री असन्तुष्ट


काठमाडौं– सरकारले गत साता गरेको विभिन्न मन्त्रालयका सचिवको सरुवामा माओवादी केन्द्रले आपत्ती जनाएको छ । उच्च स्रोतले दिएको जानकारी अनुसार गत साता सरुवा भएका विभिन्न मन्त्रालयका ३० जना सचिवको सरुवा मन्त्रिपरिषदबाट नभई प्रधानमन्त्रीको ठाडो आदेशमा मुख्यसचिव लोकदर्शन रेग्मीले गरेका हुन् ।

सामान्य प्रशासन सचिवको सिफारीसमा सचिवहरुको सरुवा मुख्यसचिवले गरेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सचिवको सरुवा मन्त्रिपरिषद बाहिरबाट भएकोमा माओवादीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले असन्तुष्टी जनाएका छन् । माओवादी केन्द्रको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यसबारेमा आपत्ती जनाइसकेका छन् ।

गृहमन्त्रालयका सचिवसहित ३० जना सचिवको सरुवा चैत्र २० मा भएको थियो । माओवादीका मात्र नभई एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुका सचिव समेत प्रधानमन्त्रीको ठाडो निर्देशनमा फेरीएका थिए ।

रक्षामन्त्री समेत रहेका एमाले महासचिव ईश्वर पोखरेलको मन्त्रालयका सचिव सरुवाबारे उनि अनभिज्ञ थिए । उनको मन्त्रालयका सचिव विनोद केसीको समेत सरुवा भएको जानकारी केसीले पत्र बुझेपछि मात्र भएको थियो ।

सामान्यतया सहसचिवहरुभन्दा माथीको सरुवा र बढुवाको फाइल मन्त्रिपरिषद बैठकबाट गर्ने नियम भएपनि सचिवको सरुवा मन्त्रिपरिषदको बैठक बाहिरबाटै भएको भने यो पहिलो पटक हो ।
माओवादी केन्द्रका मन्त्रीहरुले प्रधानमन्त्रीको कार्यशैलीको आलोचना गरेका छन् । गत साता भएको सरुवामा वन, कृषी, खानेपानी, गृह, उर्जालगायत मन्त्रालयका सचिवहरुको हेरफेर भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement