धनगढी – सुदूरपश्चिम र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखबीच भेटवार्ता भएको छ ।
सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ र लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरबीच शुक्रबार सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालय धनगढीमा भेटवार्ता भएको छ ।
केही दिनअघि सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले लुम्बिनी प्रदेश प्रमुखलाई सुदूरपश्चिम भ्रमणको निम्तो दिएका दिए । सोही निम्तो स्वीकार गर्दै लुम्बिनी प्रदेश प्रमुख सुदूरपश्चिम भ्रमणमा आएका छन् । उनले शनिबार कञ्चनपुरको दोधाराचाँदनी लगायत क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ । उनी शुक्रबारै कञ्चनपुर प्रस्थान गरेका छन् ।
प्रदेश प्रमुख मियाँले भ्रमणमा आएका लुम्बिनी प्रदेश प्रमुखलाई सुदूरपश्चिम निकै सुन्दर रहेको भन्दै भ्रमणपछि अन्य पर्यटकहरूलाई सुदूरपश्चिम भित्र्याउन भूमिका खेल्ने विश्वास व्यक्त गरे । भेटमा उनीहरूबीच संविधानले दिएको अधिकारमा रहेर अन्तरप्रदेश समन्वय गर्ने, असल र राम्रा कामको अनुसार गर्ने लगायतका विषयमा कुराकानी भएको थियो ।
प्रदेश प्रमुख कार्यालयमा स्वागत गर्दै सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले मायाको चिनो दिएका थिए । लुम्बिनी प्रदेश प्रमुखले पनि सुदूरपश्चिम प्रदेश प्रमुखलाई मायाको चिनो दिएका छन् । प्रदेश प्रमुख मियाँले आफ्नो आत्मवृत्तान्त लुम्बिनी प्रदेश प्रमुखलाई हस्तान्तरण गरेका थिए ।
भेटमा लुम्बिनी प्रदेशका तर्फबाट लुम्बिनी प्रदेश कार्यालयका सचिव वेदराज खरेल, उपसचिव भाविश्वर पौडेल, राजनीतिक सल्लाहकार लिलाधर आचार्य, प्रमुख स्वकीय सचिव दलमन पुनमगर लगायतका कर्मचारीको उपस्थिति थियो ।
प्रतिक्रिया