‘मीना’ रोबोट बनाउने महावीर पुनको घोषणा


काठमाण्डु – राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले ‘मीना’ नामको रोबोट बनाउने घोषणा गरेका छन् । उनले राष्ट्रिय आविष्कार केन्द्रमा एउटा सर्भिस रोबोटको प्रोटोटाइप निर्माण गरिने बताएका हुन् ।

अमेरिकी पर्सिभिअरन्स अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेपछि वैज्ञानिकसमेत रहेका पुनले आफूहरुले पनि ‘मीना’ नाम गरेको रोबोट बनाउँदै गरेको बताएका हुन् ।

‘अर्काको डाहा गरेर मात्र हुँदैन । डाहा लाग्नेले काम पनि गर्नु पर्यो नि । अमेरिकाले अरबौ डलर खर्च गरेर बिश्वका नामुद ईन्जिनियरहरुलाई धेरै बर्षसम्म नोकरी दिएर बनाएको त्यो अमेरिकी रोबोट र राष्ट्रिय आविष्कार केन्द्रको सानो तिनो सहयोगमा हाम्रा भर्खरै ईन्जिनियर बनेका भाईहरुले बनाउन प्रयास गर्दैछन्’, उनले भनेका छन् ।

आफूहरुले बनाएको रोबोट मंगल ग्रहमा नपठाउने भएकाले खिसी ट्युरी नगर्न आग्रह गरेका छन् । उनले उक्त रोबोटलाई आर्टिफिसियल ईन्टेलीजेन्स प्रयोग गरेर कमर्सियल सर्भिस रोबोटहरुको रुपमा बिकास गर्ने लक्ष्य राखेको बताएका छन् ।

‘यसमा १० जना जति ईन्जिनियरहरुले ४ महिना देखी सके सम्मको दिमाग लगाउंदैछन् । यो प्रोजेक्टको लिडर अमेरिकाको टेक्सासमा काम गरिरहेका भाई संदेश पाण्डेले गरिरहेका छन्’, उनले भने ।

पृथ्वीबाट उडेको करिब सात महिना पछि अमेरिकी पर्सिभिअरन्स अन्तरिक्ष यान मङ्गल ग्रहको सतहमा अवतरण गरेको थियो । उक्त यान अमेरिकी अन्तरिक्ष नियोग नासाले मंगल ग्रहमा पठाएको थियो ।

नेपाली समयानुसार शुक्रवार बिहान करिब २ः४० बजे पर्सिभिअरन्स रोभरले मंगल ग्रहको सतहमा अवतरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement