जी न्यूजकाे भिडियाे रिपाेर्ट : सगरमाथाबारे भारतले पनि दाबी गर्नुपर्छ


काठमाण्डु – भारतीय टेलिभिजन च्यानल जी न्यूजका सम्पादक सुधीर चौधरीले सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने भन्दै आपत्तिजनक रिपोर्ट प्रशारण गरेका छन् ।

पटक पटक नेपालको विषयमा आपत्तिजनक समाचार प्रशारण गर्दै आएको जी न्यूजले अहिले फेरि नेपालको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने भन्दै अर्को अफवाह फैलाएको हो ।

जी न्यूजका प्रधान सम्पादक सुधिर चौधरीले सगरमाथा दाबी प्रस्तुत गर्न सगरमाथा क्षेत्रको कालापत्थरमा उभिएर भनेका छन्, ‘आज यो ठाउँबाट तपाईंहरूलाई म केही बताउन चाहन्छु । म भन्न चाहन्छु कि माउन्ट एभरेस्टमाथि भारतको पनि दाबी हुनुपर्छ’, उनले सगरमाथाको नाम ‘राधानाथ सिकदर’ राख्नुपर्ने समेत बताएका छन् ।

यही च्यानलले गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्वातार्ता लिएको थियो । उनले भारतसँग सगरमाथाको साइनाे भएको समेत दाबी गर्दै यसबारे सन् १८५२ को घटनाको जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘आज म यहाँ उभिएर भन्न चाहन्छु कि भारतसँग माउन्ट एभरेस्टको के साइनो छ ? वर्ष १८५२ मा राधानाथ सिकदरले पहिलोपटक माउन्ट एभरेस्टको उचाइ मापन गरेका थिए । सर्भे अफ इन्डियाले उनलाई यो जिम्मेवारी दिएको थियो । उनलाई आदेश थियो, तपाईं जानुहोस् र माउन्ट एभरेस्टको उचाइ नापेर आउनुहोस् ।’

चौधरीले बंगालका राधानाथ सिकन्दरले माउन्ट एभरेस्टको उचाइ नापेको दावी गर्दै माउन्ट एभरेस्टको उचाइ नाप्ने उनी नै पहिलो व्यक्ति भएको दावी गरेका छन् । उनले भनेका छन्, ‘भारतमा त्यसवेला अंग्रेजको शासन थियो, त्यसैले उनीहरूले आफ्नो हिसाबले नाम राखिदिए । एन्ड्रयु वा जो जर्ज एभरेस्टका उत्तराधिकारीको रूपमा सर्भे अफ इन्डियाको प्रमुख थिए । उनले यो शिखरको नाम माउन्ट एभरेस्ट राखिदिए ।’

चौधरीले अगाडि भनेका छन्, ‘हामी भन्न चाहन्छौँ कि यो शिखरको नाम राधानाथ सिकदरको नामबाट राखिएको हुनुपर्दथ्यो । आज हामी भन्न चाहन्छौँ, यो शिखरको नाम राधानाथ सिकन्दरको नामबाटै हुनुपर्छ । भारतले यसका लागि अभियान चलाउनुपर्छ, भारतका जनताले पनि अभियान चलाउनुपर्छ । हामीले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी पेस गर्नुपर्छ, पूरै दुनियाँका सामुन्ने ।’

चौधरी तिनै व्यक्ति हुन् जसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा बोलाएर अन्तर्वार्ता दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement