काठमाण्डु– जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिएको छ । विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले वर्षा भइरहेको जानकारी दिएको छ ।
विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले आज र भोलि देशका विभिन्न स्थानमा वर्षा भए पनि बुधबारदेखि वर्षा क्रमश कम हुँदै जाने जानकारी दिए । उनका अनुसार आज दिउँसो देशका हिमाली भू–भागका केही स्थानमा तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मधेस प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ । विभागले कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थान वर्षाको सम्भावना छ ।
यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा देशभर विपद्जन्य ६२ वटा घटना भएका छन् । सो अवधिमा मुलुकका विभिन्न भागमा बाढीपहिरो, डुबान सर्पदंश जस्ता प्राकृतिक विपद्का घटना भएका छन् ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार ती घटनामा दुई जनाको मृत्यु र १५ जना घाइते भएका छन् । ‘सर्पदंशका कारण दुई जनाको मृत्यु भएको हो भने ११ जाना घाईते भएका छन् । उक्त घटनाबाट ९ जिल्ला प्रभावित छ । पहिरोबाट २ घाइते र ११ जिल्ला प्रभावित छन्’, उनले भने ।
प्राधिकरण्का अनुसार पछिल्ला २४ घण्टाको अवधिमा ११ वटा सडक अवरुद्ध भएका छन् । प्राधिकरणले आज सार्वजनिक गरेको दैनिक विपद् बुलेटिनअनुसार विपद्का कारण करिब १२ लाख २७ हजार बराबरको अनुमानित आर्थिक क्षति भएको छ । घटनामा ६ वटा चौपाया पनि क्षति भएको छ ।
पछिल्लो २४ घण्टामा १८ जिल्लामा २६ वटा पहिरो, १३ वटा सर्पदंश, ८ वटा आगलागी, ७ वटा अविरल वर्षा, ५ वटा जनावर आक्रमण तथा ३ वटा बाढीका घटना भएको प्राधिरकणको तथ्यांकमा उल्लेख छ । ती घटनाबाट ४७ जिल्ला प्रभावित भएको र उद्धारका लागि सुरक्षा निकायका २६७ जाना जनशक्ति परिचालन भएको प्राधिकरणले जनाएको छ ।




प्रतिक्रिया