म्यानमारमा सुकीको आतंक, ‘जातीय सफाया’ गर्ने क्रम जारी


एजेन्सी- म्यानमारमा आङसाङ सुकीको सरकार आएपछि रखाइन राज्यमा रोहिंज्या मुसलमानहरूको जातीय सफाया गर्ने क्रम अझै रोकिएको छैन ।
मंगलबार संयुक्त राष्ट्रसंघका एक अधिकारीले बताएअनुसार म्यानमारमा ६ महिनादेखिको जातिय सफाया अभियान अहिले पनि जारी छ ।

यही अभियानको क्रममा म्यानमारबाट झन्डै सात लाख रोहिंज्या मुसलमानहरू शरणार्थीको रुपमा भारत र बंगलादेश भागेका छन् । यो क्रम अझै जारी छ ।

रखाइन राज्यमा सैनिक र भिजिलान्तेहरूले दमन गर्दै आएका छन् राष्ट्रसंघका दूतले निरन्तर चलेको ’आतंक र भोकै पार्ने अभियान’ को समीक्षा गर्दै हत्या र बलात्कार जस्ता आपराधिक घटनाले मुसलमानहरूको सामूहिक बहिर्गमन भएको जनाएका छन् ।

म्यानमारको सेनाले रखाइन राज्यमा रोहिंज्या लडाकुहरूसँग लडिरहेको तर गैरसैनिकहरूलाई निशाना नबनाएको दाबी गर्दै आफ्नो बचाउ गर्दै आएको छ ।

राष्ट्रसंघीय मानवअधिकार आयोगका सहायक महासचिव एन्ड्रु गिल्मोरले म्यानमारका रोहिंज्याको जातीय सफाया चलिराखेका बताए । उनले भनेका छन्, ‘दक्षिण बांग्लादेशको कक्स् बजारमा मैले जे देखेको र सुनेको छु, त्यसबाट हामी अन्य निष्कर्ष पुग्न सक्छौँ जस्तो मलाई लाग्दैन ।’

म्यानमारबाट शरणार्थीको रुपमा बंगलादेश जाने क्रम बढेपछि बांग्लादेश र म्यानमारका अधिकारीहरूले शरणार्थी फर्काउनेबारे वार्ता गर्दै आएका छन् । तर यस कार्यले पनि सकरात्मक परीणाम निकाल्न सकेको छैन ।

कुनै पनि रोहिंज्यालाई रखाइन राज्यमा निकट भविष्यमा ’सुरक्षित, सम्मानजनक र दीर्घकालीन’ तरिकाले फिर्ता हुने कुरा अकल्पनीय छ, उनले भने,‘ म्यानमारको सरकार विश्वलाई फिर्ता आएका रोहिंज्या स्वीकार गर्न तयार रहेको बताउन व्यस्त छ, अनि उही बेला उसको सेना रोहिंज्याहरूलाई निरन्तर बांग्लादेशतिर लखेट्दैछ ।’

म्यानमारको यस्तो नीतिको कारण अहिलेसम्म हजारौं स्थानीय मारिएका छन् भने सयौं बलात्कारको घटना बाहिरीएका छन् । म्यानमारमा आफ्नै राज्यका नागरिक माथि गरिएको चरम याताना र दुव्र्यवहारको घटनाले विश्वव्यापी रुपमा म्यानमारको आलोचना पनि हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement