हतियार प्रकरणपछि अर्को बिवादमा मुछिए प्रधानसेनापति शर्मा


काठमाण्डु – मंहगो मुल्यमा चीनबाट हतियार ल्याउने प्रकरणमा मुछिएका प्रधानसेनापति प्रभुराम शर्मा फेरी अर्को बिवादमा परेका छन् ।

सेनापति शर्माले उपरथी प्रेम शाहीलाई सहयोग गरेको अभियोग लागेका सेनाको प्राड विभागका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदिप तिमसिनालाई फेरी कार्वाही गर्न प्रक्रिया अघि बढाएका छन् । यसअघि सेनाको सैनिक समरी जनरल अदालतले उनिहरुको दुई वर्ष बढुवा रोक्का गर्ने आदेश दिएको थियो ।

उपरथी ताराध्वज पाण्डे नेतृत्वको उक्त अदालतले सैनिक विद्रोहको कसूरमा उपरथी शाहीलाई बर्खास्त र अरु दुई सैनिक अधिकारीको बढुवा रोक्काको आदेश दिएको थियो । त्यसमा प्रधानसेनापति शर्माको दबावमा फैसला भएको सैनिक अधिकारीहरु नै बताउंछन् ।

सैनिक अधिकारीहरुका परिवारका सदस्यहरुले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेपछि न्यायाधीश हरिप्रसाद फुंयालको इजलासले ३ दिनभित्र शाह र तिमिसिनालाई अदालतमा हाजिर गर्न गत १७ फागुनमा आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि आत्तिएका प्रधानसेनापति शर्माको दबावमा त्यसैको अघिल्लो दिन समरी जनरल अदालतलले उनिहरुलाई मुक्त गर्ने फैसला गरेको थियो ।

सर्वोच्चको उक्त आदेशपछि सेनापति शर्मा आगो भएका छन् । उनले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई भेटेर आफ्नो असन्तुष्टि समेत पोखेका थिए । तर, उनले व्यक्तिगत पूर्वाग्रह सांधेर सैनिक अधिकारीहरुलाई दुई महिनासम्म थुनेको बुझेको सर्वोच्चले उनको असन्तुष्टिलाई वेवास्ता गरेको थियो ।

सेनाले उनिमाथि सैनिक बिद्रोहको गम्भीर कसुर लगाएर पछि निष्काशन गर्ने निर्णय मात्र गरेको थियो । जसबाट पनि सेनापतिको त्यसमा पूर्वाग्रह बाहेक अरु केही नभएको अनुमान लगाउन सकिन्छ ।

सर्वोच्चका न्यायाधीश फुयालको आदेशमा महान्यायाधिवक्ताको कार्यलयतमार्फत मुद्दाको मुख्य कागजात पेश गर्नू भन्ने आदेश थियो । तर, अदालतको आदेश दर्ता गराउन अदालतका कर्मचारी र महासेनानीका आफन्त सैनिक मुख्यालय पुगेपनि उनिहरुले ५ बजेसम्म पनि आदेश दर्ता गर्न अस्वीकार गरेका थिए । सेनाले त्यसैदिन अदालत राखेर उनिहरुलाई सामान्य कार्वाही गर्ने फैसला गरेको थियो ।

सेनापतिमाथि अदालतको अवहेलनामा मुद्दा चलाउने तयारी भएपछि उनि डराएका थिए । त्यसैले उनले सर्वोच्चका न्यायाधीशहरुलाई व्यक्तिगत रुपमा नै भेटेर पछि त्यो प्रकरणबारे स्पष्ट पार्ने कोशिस गरेका थिए ।

सर्वोच्चको फैसला नआउंदै प्रधानसेनापति शर्माको दबावमा अहिले सेनाले शाह र तिमिसिनालाई जनरल सैनिक अदालतले गरेको फैसला कम भएको भन्दै फेरी सैनिक विशेष अदालतमा पुनरावेदन दर्ता गराएको हो । उच्च अदालतको न्यायाधीश महेश पुडासैनि अध्यक्षतामा रक्षामन्त्रालयका सचिव किरणराज शर्मा र प्राड विभागका प्रमुख रत्नप्रकाश थापा रहेको सैनिक विशेष अदालत गठन भएको छ । थापा र शर्मालाई प्रमुखसेनानी तिमिसना र महासेनानी शाहले सर्वोच्चमा दिएको मुद्दा अहिले विचराधीन छ ।

प्रधासेनापति शर्माको आदेशमा सर्वोच्च अदालतका न्यायाधीशहरु, पत्रकार र केही सैनिक उच्च अधिकारीहरुको पछि सुराकी खटाएको, उनिहरुको व्यक्तिगत विवरण संकलन गरेको आरोप लागिरहेको र सेनालाई एकाउण्टेबल बनाउनुपर्ने आवाज उठिरहेको बेला फेरी सेनापतिले गैरकानुनी काम अघि बढाएका हुन् ।

सेनापति शर्माकै निर्देशनमा विपक्षीहरुलाई राखेर आफ्नै निर्णयविरुद्ध सैनिक मुख्यालयले पुनरावेदन गरेको हो । यसमा निष्पक्षताको प्रश्न समेत उठेको छ । सैनिक विशेष अदालतमा रहेका शर्मा प्रधानसेनापतिकै सिफारिसमा सचिव भएका हुन् भने अर्का न्यायाधीश पुडासैनिविरुद्ध न्याय परिषदमा उजुरी छ । उनि एक महिनापछि अवकाशमा समेत जांदैछन् ।

सेनापति सेनाका उपरथी प्रेम शाही पूर्व प्रधानसेनापति पूर्णचन्द्र थापा निकट भएको आधारमा कार्वाही गरेका थिए । शाहीलाई सहयोग गरेको आरोपमा महासेनानी शाह र तिमिसनामाथि प्रधानसेनापति शर्माले पूर्वाग्रह सांधेको सैनिक अधिकारीहरु नै बताउंछन् । यद्यपी सेनाले भने उनिहरुले सैनिक कानुन मिचेकोले कार्वाही भएको दावी गर्दै आएको छ । तर, सेनाकै प्राड विभागभित्रको राजनीतिले पनि यसमा काम गरेको सैनिक स्रोत बताउंछ । शाहको बढुवा रोकिएसंगै कोर्ट अफ इनक्वायरीमा सदस्य रहेका महासेनानी ओमबहादुर भट्टले सहायकरथी बन्ने अवसर पाउने भएकाले पनि उनि समेत यसमा लागेका छन् ।

बढुवा रोक्का भएका शाहलाई अहिले महोत्तरीको बर्दिवास र तिमसिनालाई सुर्खेत पठाइएको छ । उनिहरुलाई सेनाले अहिले पनि नजरबन्दमा राखेको स्रोतको दावी छ । सेनाले दुवै जनाका आफन्तलाई समेत भेट्न दिइएको छैन् ।

शाहले सेनाको प्राड विभागका वेथितिका बारेमा बयानमा बोलेका थिए । उनले बहुनागरिकता भएका र राजनीतिक आवरणमा बसेर सेनामा हैकम चलाएका सैनिक अधिकारीहरुमाथि छानविन हुनुपर्ने माग गरेका थिए ।

प्रधानसेनापति शर्माले पछिल्लो समय सेनामा गुट चलाएको आरोप छ । उनको गुटमा सहायकरथी सन्तोषबल्लभ पौडेल,विष्णु खड्का, उपरथी अशोक सिग्देल,गौरव केसी र सेवा दलमा रहेका अवकासप्राप्त उपरथी सुरेश कार्कीलगायत छन् ।

सेनापति शर्मा चीनबाट महंगो मुल्यमा एपीसी, गाडी र हतियार खरिद प्रकरणमा बिवादमा आएपछि उनको राजनीतिक नेतृत्वसंग समेत सम्बन्ध चिडिएको छ । प्रधानसेनापति शर्माले झुटो बोलेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र रक्षामन्त्री पूर्णबहादुर खड्का समेत उनिसंग असन्तुष्ट छन् । राष्ट्रपति रामचन्द्र पौडेल समेत नागरिकता विद्येयकमा आफुलाई नमागेको सल्लाह दिएको र हतियार खरिद प्रकरणमा आफ्नो सुझाव नमानेको भन्दै असन्तुष्टि पोखिरहेको स्रोत बताउंछ ।

सरकार अहिले चीनबाट ६ अर्ब बराबरको हतियार रोक्नेमा छ । तर, सेनापति शर्मा भने प्रतिबन्धित चिनियां कम्पनी नोरिन्कोबाट कमिशन एजेण्टसंग मिलेर यो प्रक्रिया जसरी पनि अगाडी बढाउनेमा छन् । अहिले सेनाको एलसी खोल्न कुनै पनि बैंकले मानिरहेका छैनन् ।

सेना र सरकारमाथि कूटनीतिक दबाव समेत परेको छ । सेनापतिले कल्याणकारीको रकममा मनपरी गर्ने गरेको भन्दै यसलाई अर्थमन्त्रालय र खरिदलाई रक्षामन्त्रालयमा ल्याउने छलफल समेत प्रधानमन्त्री तहमा सुरु भएका छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement