सेनाका अर्का जर्नेलले पाए राष्ट्रसंघमा उच्च तहको जिम्मेवारी


काठमाडौं– नेपाली सेनाका अर्का एक अधिकृतलाई संयुक्त राष्ट्रसंघमा उच्च तहको जिम्मेवारी मिलेको छ । सेनाका सहायकरथी दिपक बानिंयालाई साउथ सुडानको अनमिस मिसनमा सेक्टर कमाण्डरको जिम्मेवारी मिलेको हो । साउथ सुडानस्थित अनमिस मिसनमा सेक्टर कमाण्डर फोर्स कमाण्डर र डेपुटी फोर्स कमाण्डरपछि तेस्रो उच्च तहको पद हो । उक्त मिसनमा नेपाली सेना र सशस्त्र प्रहरीको २ हजार फौज समेत कार्यरत छ ।

उक्त मिसनअन्र्तगत २२ हजार फौज रहेको छ । हाल जुम्लास्थित सेनाको २४ बाहिनीको बाहिनीपति रहेका बानियां सेक्टर कमाण्डरका रुपमा छनौट भएका हुन् । उनि २७ बेसिकका सैनिक अधिकृत हुन् । अनमिस मिसनमा नर्थ, इस्ट,वेस्ट, साउथ र जुवा गरी पांच वटा सेक्टर रहेका छन् । यसअघि सेनाकै सहायकरथी नैनराज दाहाल पनि दुई वर्षअघि मात्र साउथ सुडानमा सेक्टर कमाण्डरका रुपमा छनौट भएका थिए ।

त्यसैगरी कंगोमा नेपाली सेनाका सहायकरथी देव घले र लोक थापा मगर र पुर्व युगोस्लाभियामा सहायकरथी सरोजराज शर्माले उक्त जिम्मेवारी पाइसकेका छन् । नेपाली सेनाका उपरथी ईश्वर हमाल गत महिना मात्र अनडफ मिसनमा फोर्स कमाण्डरका रुपमा छनौट भएका थिए ।

 विश्व शान्ति स्थापना कार्यको लागि फौज पठाउने संसारका १ सय २२ मुलुकमध्ये नेपाल गत साता मात्र पांचौ स्थानबाट चौथो स्थानमा उक्लन सफल भएको थियो । संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि विभिन्न १२ (बाह्र) वटा द्वन्द्वग्रस्त मुलुकहरुमा तैनाथ भएका नेपाली कण्टिन्जेण्ट, सैनिक पर्यवेक्षक र स्टाफ अधिकृतहरु गरि जम्मा ५ हजार ६ सय ५८ जना सुरक्षाकर्मीहरु कार्यरत रहेका छन् ।

 नेपाली सेनाका ५ हजार ९६ जना शान्ति सैनिक र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका ५ सय ६२ जनाको फौज विभिन्न द्वन्द्वग्रस्त मुलुकहरुमा तैनाथ रहेका छन् ।

यो पनि पढ्नुहोस्-

विश्व मैदानमा नेपाली सेना भारत र चीनको सेनाभन्दा ‘उत्कृष्ट’

प्रतिक्रिया दिनुहोस
Advertisement