विश्व मैदानमा नेपाली सेना भारत र चीनको सेनाभन्दा ‘उत्कृष्ट’


काठमाडौं – नेपाली सेनाको कुशलता र बहादुरी संसारभर प्रशंसनीय रहँदै आएको छ । एकपल्ट फेरि नेपाली सेना अब्बल देखिएको छ ।नेपालका छिमेकी देश भारत र चीन नेपालभन्दा अधिकांश कुरामा अब्बल छन् । तर शान्ति सेनाको सेवा प्रदर्शनमा नेपाली सेना दुवै देशका सेनाभन्दा अब्बल सावित भएको छ ।

संयुक्त राष्ट्र संघ (यूएन) शान्ति मिसनमा सुरक्षा दस्ता पठाउने देशमध्ये नेपाल चौथो स्थानमा पुग्न सफल भएको छ । भारत पाँचौं र चीन दशौं स्थानमा रहँदै नेपालभन्दा पछि परेका छन् । यसअघि भारत नेपाल भन्दा अगाडि रहेपनि यसपटक नेपालले भारतलाई समेत पछि पारेको हो । नेपालभन्दा अब्बल शान्ति सेनामा इथियोपिया, बंगलादेश र रुवान्डा परेका छन् । भारतपछि पाकिस्तान, इजिप्ट, घाना, इन्डोनेसिया र चीन प्रमुख १० देशभित्र परेका छन् ।

विश्वभरबाट १२२ देशका शान्ति सेना परिचालन हुने मैदानमा नेपाल चौथो स्थानमा रहेको नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले बताए । संयुक्त राष्ट्रसंघ (यूएन) को आह्वान नेपाल लगायत देशले शान्ति सेना परिचालन गर्ने गरेका छन् । नेपाली सुरक्षाकर्मी सेना, सशस्त्र र नेपाल प्रहरी हाल १२ वटा द्वन्द्वग्रस्त देशमा कन्टिन्जेन्ट, सैनिक पर्यवेक्षक र स्टाफ अधिकृत गरी ५ हजार ६५८ परिचालन भएका छन् । जसमध्ये सेनाबाट ५ हजार ९६ जना छन् भने प्रहरी र सशस्त्रबाट ५६२ जना खटिएका छन् । शान्ति सेनामा खटिएका नेपाली महिला सैनिक विश्वभरका महिला सैनिकको तुलनामा पाँचौं स्थानमा रहेका नेपाली सेनाले जनाएको छ ।

यूएन शान्ति मिसनको रेकर्ड अनुसार नेपालभन्दा बढी सुरक्षाकर्मी इथियोपियाबाट ६ हजार ६३९ जना, बंगलादेशबाट ६ हजार ४१३ जना, रुवान्डाबाट ६ हजार २९२ जना परिचालन भएका छन् । पाँचौं स्थानमा भारतबाट ५ हजार ४०४ जना सुरक्षाकर्मी मिसनमा खटिएका छन् । भारतपछि पाकिस्तानका ४ हजार ३११, इजिप्टका ३ हजार ११३, घानाका २ हजार ७७४, इन्डोनेसियाका २ हजार ७०५, चीनका २ हजार ४४४ जना सुरक्षाकर्मी शान्ति मिसनमा खटिएका छन् ।

यूएन शान्ति मिसनमा नेपालको प्रतिनिधित्व सुरू भएको ६१ वर्षे इतिहासमा ५ जना कमाण्डरले मिसन प्रमुखको जिम्मेवारी पाएका छन् । केही समयभित्रै छैटौं मिसन प्रमुख बनेर सेनाका उपरथी ईश्वर हमाल सिरियाको गोलानहाइट्समा मिसनको नेतृत्व गर्न जाने निश्चित भएको छ । नेपाली सेनाबाट हालसम्म पूर्व रथी कृष्णनारायणसिंह थापा, भिक्ट्रीशमशेर जबरा, बालानन्द शर्मा, पवनजंग थापा र प्रधानसेनापति पूर्णचन्द्र थापाले मिसन प्रमुख भएर कुशलता प्रदर्शन गरिसकेका छन् ।

नेपाली सेनामा यूएन शान्ति मिसनलाई आकर्षक अवसरका रुपमा लिने गरिन्छ । पदोन्नतिदेखि आर्थिक लाभका हिसाबले फाइदाजनक हुने भएकाले हरेक सैनिक शान्ति मिसनको अवसरको पर्खाइमा हुन्छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाले शान्ति मिसनमा सबैलाई अवसर मिल्ने गरी सुधार गरेका छन् । शान्ति मिसनमा अवसरका लागि हुने गरेको भनसुन, राजनीतिक दबाब, निकटताको स्वार्थलाई अन्त्य गर्दै सेनापति थापाले ज्येष्ठताको आधारमा अवसर मिल्ने पद्दति विकास गरेका छन् । शान्ति मिसनको अवसर सुनिश्चित हुँदा सैनिक सेवाप्रति आकर्षण बढ्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement