सेनामा दुई उपरथीले अवकास पाए,बानियां र दवाडी दुई तारे बन्ने लाइनमा


काठमाण्डु– नेपाली सेनाका दुई जना उच्च अधिकारी विदामा बसेका छन् । सेनाका उपरथीहरु निरन्जन श्रेष्ठ र विज्ञानदेव पाण्डे सेनाबाट अवकास पाउनु केही दिनअघि बिदामा बसेका हुन् । श्रेष्ठ सेनाको तालिम महानिर्देशनालयका प्रमुख थिए भने पाण्डे सेनाका आरएण्डीको प्रमुख थिए ।

श्रेष्ठले बैशाख २३ मा र पाण्डेले बैशाख २९ मा अनिवार्य अवकास पाउंदैछन् । पाण्डे यसअघि सेनाको सैनिक जनसम्पर्क निर्देशनालयको निर्देशक समेत थिए ।

सैनिक वार कलेजका प्रमुखका प्रमुख रहेका अर्का उपरथी संजय थापा पनि यही वैशाख २३ गतेबाट बिदामा बस्दैछन् । जेठ अन्तिममा सेनाका हाल कार्यरथी रहेका सुरेश कार्की अवकासमा जांदैछन् ।

सैनिक अभिलेखालयमा रहेको उनको रेकर्डअनुसार उपरथी कार्कीले असार १८ मा अवकास पाउनेछन् । सेनामा अवकास पाउनु १५ दिनअघि नै बिदामा बस्ने प्रचलन छ ।

सेनामा रिक्त उपरथी पदमा २६ र २७ बेसिकका सहायकरथीहरुको बढुवा सिफारिस हुने तयारी छ । श्रेष्ठको ठाउंमा वैशाख २३ पछी वरियतामा एक नम्बरमा रहेका सेनाका सहायकरथी दीपक बानियां, पाण्डेको ठाउंमा होमनाथ दवाडी र थापाको ठाउंमा यम ढकाल दुई तारेमा बढुवा हुंदैछन् ।

बढुवा हुनेमा केसी बाहेक सबै २७ बेसिकका सैनिक अधिकारी हुन् । सहायकरथी सागर बहादुर केसी भने कार्कीले अवकास पाएपछी मात्र उपरथीमा बढुवा हुनेछन् । हाल सैनिक तालिम निर्देशनालयमा निर्देशक रहेका वानियांले चीनबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेका छन् ।

२७ बेसिकका बानियां उमेरले सबैभन्दा कान्छा सहायकरथी हुन् । इन्जिनियरिङ पृष्ठभुमिका बानियां २०२६ असार १४ मा जन्मिएका हुन् । उनको अहिलेकै अवस्थामा तीन तारेसम्म पुग्ने लगभग निश्चित छ । बानियां भविष्यमा प्रधानसेनापतिका दावेदारमध्ये एक हुन् । अहिलेका प्रधानसेनापतिपछी उपरथीहरु ताराध्वज पाण्डे र अशोक सिग्देलमध्ये एक र त्यसपछी बानियां र मधुकर कार्कीमध्ये एक जना सेनापति बन्ने लाइनमा छन् ।

बानियां केही समयअघि मात्र संयुक्त राष्ट्रसंघअन्र्तगत साउथ सुडानको अनमिस मिसनको सेक्टर कमाण्डरको जिम्मेवारीमा थिए । उनले मिसनमा तेस्रो वरियतामा रहेर काम गरेका थिए । जहां विश्वभरका २२ हजार शान्ति सैनिक कार्यरथ थिए । बानियां नेपाली सेनामा यूएनमा उच्चस्तरिय जिम्मेवारी पाउने थोरै अधिकृतमध्ये एक हुन् ।

बढुवाको लाइनमा रहेका अर्का सहायकरथी दवाडीले बङगलादेशबाट एनडीसी कोर्स गरेका छन् । उनि हाल राष्ट्रिय सुरक्षा परिषद सचिवालयमा कार्यरत रहेका छन् । अर्का सहायकरथी ढकाल विपद निर्देशनालय र केसी सैनिक गूप्तचर महानिर्देशनालयमा कार्यरत छन् । ढकाल र केसी दुवैले एनडिसी कोर्स चीनबाट गरेका छन् । सेनामा उपथरीमा बढुवा हुन् एनडिसी कोर्स अनिवार्य गर्नुपर्ने नियम छ ।

सैनिक स्रोतले दिएको जानकारीअनुसार सेनामा उपरथीहरुको बढुवासंगै सरुवाको समेत तयारी छ । हाल पश्चिम कमाण्डमा रहेका उपरथी प्रेम शाही, सम्भारमा रहेका ताराध्वज पाण्डे र नीतिमा रहेका अशोक सिग्देलको जिम्मेवारी हेरफेर हुने सम्भावना रहेको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस
Advertisement