नाम मिल्दा ६ वर्ष कैद सजाय


काठमाडाैं – ७ चैत ०६९ मा इलाम गजुरमुखीका प्रकाश पुलामीको घरमा डाँका लाग्यो । एकजना मारिए, अरू पक्राउ परे । पक्राउ परेकाले सजाय पाए । डकैतीको योजनाकार रहेको भनिएका विक्रम भनिने गणेश लिम्बू फरार रहे ।  १३ माघ ०७१ मा जिल्ला प्रशासन कार्यालय इलामले हातहतियार खरखजना मुद्दाका फरार अभियुक्त विक्रम भनिने गणेश लिम्बूविरुद्ध ८० हजार रुपैयाँ जरिवाना तोक्यो ।

१९ भदौ ०७५ मा प्रहरीले गणेश हाङनाम लिम्बूलाई तिनै फरार अभियुक्त भन्दै पक्राउ गर्‍यो । २१ भदौ ०७५ मा उनलाई जिल्ला प्रशासन कार्यालय इलाममा जबर्जस्ती ८० हजार जरिवाना तिराइयो । १ पुुस ०७५ मा जिल्ला अदालत इलामले विक्रम भनिने गणेश लिम्बू र उनी एकै व्यक्ति नभएको भन्दै सफाइ दियो । जरिवाना तिरेकै आधारमा जिल्ला अदालत इलामले ३१ वैशाख ०७६ मा उनलाई ६ वर्ष कैद र ६७ हजार ८ सय ६० रुपैयाँ जरिवाना हुने फैसला गर्‍यो ।

ताप्लेजुङ मेरिङदेन–४ का ३७ वर्षीय गणेश हाङगाम लिम्बूले फरार अभियुक्तसँग नाम मिलेकै भरमा ६ वर्ष कैद भुक्तान गर्नुपर्ने भएको छ । प्रहरी र प्रशासनले नै आफूलाई फसाएको भन्दै उनी न्याय माग्न भौँतारिइरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय इलामले हातहतियार खरखजना मुद्दाका फरार अभियुक्त विक्रम भनिने गणेश लिम्बूविरुद्ध तोकेको ८० हजार रुपैयाँ जरिवाना लिम्बूले जेल पर्ने भयका कारण २१ भदौ ०७५ मा तिरेका थिए । त्यसैलाई आधार मान्दै अदालतले लिम्बूविरुद्ध ३१ वैशाख ०७६ मा ६ वर्ष कैद र ६७ हजार ८ सय ६० रुपैयाँ जरिवाना हुने फैसला गरेको हो । याे खबर आजकाे नयांपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement