मन्त्रीमा पठाउने नामबारे शेखर र गगनबीच मतभेद


काठमाण्डु-  नेपाली कांग्रेसभित्र मन्त्रीमण्डलमा पठाउने नेताहरुको नाममा विवाद देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा नेपाली कांग्रेसबाट रक्षामा पूर्णबहादुर खड्का,अर्थमा प्रकाशशरण महत, उद्योग वाणिज्यमा रमेश रिजाल र सहरी विकासमन्त्री सीता गुरुङ मन्त्री नियुक्त भइसकेकी छन् ।

सत्ता गठबन्धनमा कांग्रेसलाई ८ मन्त्रालय दिने सहमति छ । कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच सुरुमा मन्त्रालयमा पठाउने मन्त्रीहरुको नाममा सहमति थियो । दुवै नेतावीचको सहमतिअनुसार कानुन,न्याय तथा संसदीय मामिलामा धनराज गुरुङ, र खानेपानीमा डिकबहादुर गुरुङलाई मन्त्री बनाउने तयारी भएपनि अन्तिममा कोइराला समुहभित्र विवाद हुंदा नियुक्ती रोकिएको थियो ।

नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले आफ्नो समुहलाई तीन वटा मन्त्रालय दिन पर्ने र नेता प्रदिप पौडेललाई स्वास्थ्यमन्त्री बनाउन दबाव दिएपछि कोइराला समुहभित्र विवाद भएको हो । सभापति देउवाले भने पौडेललाई मन्त्री बनाउन नसकिने स्पष्ट जवाफ दिइसकेका छन् ।

शर्मा र थापाले पौडेल नभए सहमहामन्त्री जीवन परियार र वद्री पाण्डे मध्येबाट एक जनालाई मन्त्री बनाउनुपर्ने अडान राखेका छन् । तर, नेता कोइरालाले भने लिम्बु र गुरुङलाई मन्त्री बनाउन खोजेका छन् ।

सभापति देउवाले आफ्नो पक्षबाट कंचनपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद एनपी साउंदलाई परराष्ट्र र मोहन वस्नेतलाई स्वास्थ्यमा पठाउने तयारी गरेका छन् ।

सभापति देउवाले कोइराला पक्षलाई दुई मन्त्रीसहित एउटा राज्यमन्त्री दिने सन्देश पठाएका छन् । प्रधानमन्त्री दाहालले महामन्त्री गगन थापालाई स्वास्थ्यमा पठाउन गरेको आग्रह सभापति देउवाले भने अस्वीकार गरेका छन् ।

कांग्रेसभित्र मन्त्रीमा पठाउने नेताहरुको नाममा विवाद हुंदा सरकारले पूर्णता पाउन सकेको छैन् । प्रधानमन्त्री दाहालले बुधवार एक दुई दिनभित्र मन्त्रीमण्डल विस्तार हुने बताएका छन् ।

मन्त्रिमण्डलमा पठाउने नाममा कोइराला समुहभित्रै विवाद हुंदा प्रधानमन्त्री दाहाल अफ्ठेरोमा परेका छन् । कांग्रेस सभापति देउवासंग दाहालले आवश्यक परे विवाद मिलाउन एक मन्त्रालय दिन सक्ने बताएपछि चांडै मन्त्रीमण्डल विस्तार हुने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement