निकसँग प्रियंकाको ‘अफएयर’


काठमाडौं – अमेरिकी टीभी सिरियल ‘क्वान्टिको’ मा आबद्ध भएयता बलिउड अभिनेत्री प्रियंका चोपडा बारम्बार न्युयोर्क आउजाउ गरिरहेकी छन  ।

उक्त सिरियलको दोस्रो भाग छायांकनका लागि अमेरिका पुगेका बेला उनले पोहोर एउटा घर किनिन् । हाल उनी न्युयोर्कमै छिन्  । र, सुनिन्छ न्युयोर्कमा घर किनेकी अभिनेत्रीले उतै घरबार अर्थात् गृहस्थी पनि बसाउने सुर कसेकी छन्  ।

प्रसंग हो, प्रियंका र पप गायक निक जोनसको  । यी दुई स्टार वर्ष्दिनयता खुब नजिकिएका छन्  । गत वर्षको मेट गाला (फेसन प्रदर्शनी) देखि यिनीहरूबीचको घनिष्ठता बढेको हो  । कुममा कुम मिलाएर रेड कार्पेटमा उभिएका उनीहरूबारे त्यो बेला नै गाइँगुइँ चलेको थियो  । केही पत्रकारले यसबारे सोध्न छुटाएनन् पनि  । तर, प्रियंकाले हाँसेर टारिन्  ।

‘हाम्रो ड्रेस डिजाइनर एउटै भएकाले सँगै उभिएर पोज दिएका हौं,’ उनले भनिन्  । यसपालि उनीहरू आफ्नो सम्बन्धलाई लिएर एक कदम अघि बढेको अड्कल काट्न सकिन्छ  । यसै साता निककी कजन सिस्टर रसेल टाम्बुरेलीको वैवाहिक समारोहमा प्रियंका सरिक भइन्  । उनलाई विशेष निम्तो पठाइएको थियो रे । निकले यसअघि कुनै पनि युवतीलाई आफ्ना पारिवारिक समारोहमा उपस्थित नगराएकाले प्रियंकासँगको उनको मित्रता पक्कै गाढा भएको अनुमान गरिएको छ  ।

यतिका समाचार, शंका र होहल्लाबीच दुवै स्टार चुपचाप छन्  । बलिउडतिरका मिडियाले चाहिँ ‘औपचारिक घोषणा हुन मात्र बाँकी’ रहेको बताउँदै आएका छन्  । हलिउडवालाले निकका भाइ केभिनमार्फत यसबारे तथ्य पत्ता लगाउन खोजेछन् । केभिनले प्रियंका ‘सुपर असम’ (सर्वोत्तम) भए पनि निकको कुरा निकले मात्र बताउन सक्ने अभिव्यक्ति दिएका थिए । हाललाई उनीहरू साथी मात्र हुन् कि अरू केही भन्ने रहस्यकै गर्भमा छ  ।

प्रतिक्रिया दिनुहोस
Advertisement