नेकपा सचिवालय बैठकमा कार्यदलको प्रतिवेदन पेश


काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठकमा साङ्गठनिक एकताका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदन पेश गरेको छ । गत पुस १२ गते सम्पन्न स्थायी कमिटिको बैठकले सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेकोे थियो । सो कार्यदलले तयार पारेको साङ्गठनिक एकता सम्बन्धी प्रतिवेदन प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सचिवालयको बैठकमा पेश गरिएको हो ।

बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल शुरु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘‘सो प्रतिवेदन पेश भएपछि के गर्ने भन्ने विषयमा छलफल भयो,” । उनले भने , “कार्यदलको प्रतिवेदनमाथि छलफल जारी राख्दै अर्को बैठक यही फागुन ९ गते बस्ने भएको छ ।” साङ्गठनिक एकताका सन्दर्भमा कार्यदलले लामो छलफल गरे पनि केही विषयमा भने सहमति हुन नसकेको केही नेताले बताए ।

प्रवक्ता श्रेष्ठले ९ गते बस्ने बैठकमा कार्यदलका सम्पूर्ण सदस्यसहित सचिवालयको संयुक्त बैठक बस्ने र साङ्गठनिक एकताको विषयलाई कसरी टुङ्गो लगाउने भन्नेबारेमा आवश्यक नीति र निर्णय गरिने जानकारी दिए ।

गत जेठ ३ गते तत्कालीन नेकपा९एमाले० र नेकपा ९माओवादी केन्द्र० बीच पार्टी एकता भई नेकपा गठन भएपछि सचिवालय, स्थायी समिति, केन्द्रीय समिति र प्रदेश समिति गठन भए पनि जिल्ला तथा जनवर्गीय सङ्गठनको एकता हुनसकेको छैन ।
स्थायी समितिले कार्यदल नै गठन गरेर साङ्गठनिक एकता टुङ्गो लगाउने बताए पनि कार्यदलमा सबै विषयमा सहमति हुननसक्दा एकता प्रक्रियामा विलम्ब हुँदै आएको छ ।

आगामी संयुक्त बैठकबाट एकता सम्बन्धी विषयलाई टुङ्गो लगाउने र देशव्यापी रुपमा अभियान सञ्चालन गर्ने मनस्थितिमा सचिवालय पुगेको बताइएको छ

प्रतिक्रिया दिनुहोस
Advertisement