शान्ति मिसनमा जाने सेनाको संख्या १० हजार पुग्दै, पाँचखालमा अत्याधुनिक तालिम केन्द्र(फोटोसहित)


काठमाडौं – काभ्रेपलान्चोकस्थित पाँचखालमा रहेको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई नेपाली सेनाले विशिष्टिकृत बनाउने तयारी थालेको छ । पाँचखालमा रहेको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई सेनाले विशिष्टिकृत बनाउने तयारी थालेको हाे ।

नेपाल सरकारले संयुक्त राष्ट्रसंघीय मिसनमा १० हजार सेना पुर्याउने प्रतिवद्धता जनाएसंगै तालिम केन्द्रलाई आधुनिक तथा अनुसन्धान केन्द्रको रुपमा समेत विकास गर्न लागेको छ ।

वीरेन्द शान्ति कार्य पाँचखालका महासेनानी मनोज वैदवारले  वीरेन्द्र कार्य शान्ति तालिम केन्द्रलाई ‘सेन्टरफर एक्सीलेन्स’ को अवधारण अनुसार विकास गर्न लागिएको जानकारी दिए ।

उनले भने, ‘तालिम केन्द्रलाई पुर्वाधारको विकाससँगै थप उत्कृष्ट बनाउनेगरी अवधारण तयार भएको छ ।’ सेनाले तयार पारेको ‘सेन्टरफर एक्सीलेन्स’ अवधारणा अनुसार केन्द्रमा शान्ति सेनामा जाने विदेशी सेनालाई समेत विशेष खालको (मिसन अनुसारको) प्रि–डिप्लोयमेन्ट ट्रेनिङ दिइने छ । तालिम केन्द्र थप विस्तारका लागि आवश्यक पर्ने जमिन उपलब्ध गराउन रक्षा मन्त्रालयसँग समन्वय भइरहेको छ ।

संयुक्त राष्ट्रसंघको आग्रहमा शान्ति स्थापनाकालागि नेपाली सेनाको ‘पुरानो गोर्खा बटालियन’ सन १९७४ पहिलोपल्ट तैनाथ भएको थियो ।त्यसभन्दा अघि शान्ति सेनाको पर्यवेक्षणका सन् १९५८ मा लेवनान र १९६६ मा अफगानिस्थानमा नेपाली सेनाको टोली लागि खटिएको थियो । त्यस यता एक लाख २९ हजार ८ सय ९० जना नेपाली सेना द्वन्द्वरत मुलुकमा शान्ति स्थापनाका लागि खटिएका छन् । जसमध्ये ६५ नेपाली सेनाले शान्ति स्थापनार्थ खटिएका बेला ज्यान गुमाइसकेका छन् भने ६६ जना घाइते भएका छन् ।

संयुक्त राष्ट्रसंघको आग्रहमा शान्ति स्थापनार्थ योगदानगर्नेमा नेपाल चौथो नम्बरमा छ । द्वन्द्वरत मुलुकहरु कंगो, दक्षिण सुडान, पश्चिम साहारा, इजरायल, लेवनान, माली, सिरिया, अफ्रिकन रिपब्लिक लिविया र इराकमा गरी १२ वटा फरक–फरक मिसनमा ५०९६ नेपाली सेना अहिलेपनि तैनाथी अवस्थामा छन् ।

मिसनमा ५ हजार ९६ नेपाली सेना तैनाथ

द्वन्द्वरत मुुलुकका १२ वटा मिसनमा ५ हजार ९६ नेपाली सेना हाल तैनाथी अवस्थामा छन् । सरकारले यो संख्यालाई दोब्बर अर्थात १० हजार पठाउने गरी संयुक्त राष्ट्रसंघमा प्रतिवद्धता जनाएको छ ।

नेपाली सेनाले तालिम केन्द्रबाट संचालन गरेका दुईवटा तालिमलाई राष्ट्रसंघले मान्यता प्रदान गरेको छ । सेनाले दिने प्रि–डिप्लोइमेन्ट ट्रेनिङ्ग अन्तर्गत ‘स्टाफ अफिसर्स कोर्स’ र ‘कन्टिजेन्ट प्रि–डिप्लोयमेन्ट ट्रेनिङ्ग’लाई उत्कृष्ट तालिमको प्रमाणपत्र प्रदान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement