स्थानीय तह निर्वाचन सम्पन्न गर्न प्रधानसेनापति शर्माले दिए ४ बुँदे निर्देशन


काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न चारवटै कमान्डका कमाण्ड सेनापतिहरुलाई निर्देशन दिएका छन् ।

नेपाली सेनाका विभागीय प्रमुखहरुको उपस्थितीमा आइतबार प्रधानसेनापति शर्माले वैशाख ३० मा हुने ‘स्थानीय तह निर्वाचन–२०७९’ स्वतन्त्र, निष्पक्ष, विश्वासनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट सेनालाई प्राप्त जिम्मेवारी उचित ढंगले वहन तथा कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

सैनिक मुख्यालयद्धारा जारी विज्ञप्ती अनुसार प्रधानसेनापति शर्माले चार बुँदे निर्देशन चारै कमान्डका कमान्ड सेनापतिलाई जारी गरेका छन् ।

शर्माले आ–आफ्नो जिम्मेवारी क्षेत्रहरुको सुरक्षा स्थितिको निरन्तर मूल्याङ्कन गर्ने, जिल्ला प्रशासन कार्यालयहरु, प्रदेश एवं स्थानीय सुरक्षा निकायहरु तथा जिल्ला निर्वाचन आयोगका कार्यालयहरुसाग असरदार रुपमा समन्वय गरी कार्य गर्ने, देशैभरि नेपाली सेना उच्च सतर्कताका साथ रहने तथा बम डिष्पोजल टोली आवश्यकता अनुसार तयारी हालतमा राख्ने र नेपाल सरकार तथा निर्वाचन आयोगको कार्यादेश बमोजिम शान्ति सुरक्षा तथा सु–व्यवस्था कायम गरी आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने निर्देशन जारी गरेका हुन् ।

विज्ञप्ती अनुसार प्रधानसेनापति शर्माले ‘स्थानीय तह निर्वाचन एकिकृत सुरक्षा योजना–२०७८’ मा उल्लेखित नेपाली सेना सम्बन्धी बुँदाहरुलाई अक्षरशः पालना गर्न समेत निर्देशन दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यस अघि नै राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा सरकारको निर्णय अनुसार स्थानीय तहको लागि सेना परिचालनको लागि स्वीकृत दिइसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement