नेपाल प्रहरीमा एआइजी सरुवाको प्रस्ताव : पाललाई मेट्रोबाट हटाउने तयारी


काठमाण्डु– सरकारले नेपाल प्रहरीका एआइजीको सरुवाको तयारी गरेको छ । प्रहरीका एआइजीहरुको सरुवाबारे विहिवार बसेको मन्त्रिपरिषदको बैठकमा छलफल भएपनि निर्णय भने भएको छैन । यसअघि नेपाल प्रहरीका सवै प्रदेश प्रमुखसहित मुख्यालयमा कार्यरत डिआईजीहरुको सरुवा भएको थियो ।

प्रहरी प्रधान कार्यालयले गरेको एआइजी सरुवाको प्रस्ताव गृहमन्त्रालय हुंदै मन्त्रिपरिषद बैठकमा पुगेको छ । तर, भर्खरै बढुवा भएका एआइजी सहकुल थापाको सरुवाबारे सहमती नभएपछि विहिवार कुनै निर्णय नभएको बताइएको छ ।

गृहमन्त्रालयले गरेको सरुवा प्रस्तावअनुसार एआइजी निरजबहादुर शाहीको महानगरीय प्रहरी कार्यालय, हरिबहादुर पाललाई एकेडेमी, प्रद्युम्न कार्कीलाई अपराध अनुसन्धान विभाग र विश्वराज पोखरेलको प्रशासन विभागमा सरुवा प्रस्ताव पठाइएको छ ।

विहिवार मात्र एआइजीमा बढुवा भएका थापाले पनि महानगरीय प्रहरी कार्यालय जान खोजपछि हिजोको बैठकमा सरुवाको निर्णय हुन नसकेको हो । प्रहरी मुख्यालयले उनलाई कार्यविभाग पठाउन चाहेको छ । थापाको एआइजीमा बढुवा भएसंगै उनी पोखरेलसंग आइजीपीको प्रतिस्पर्धामा सामेल भएका छन् । दुवै जनालाई सत्तारुढ दलका नेताहरुको साथ छ ।

एआइजीहरुको एक वर्ष नपुग्दै सरकारले सरुवाको तयारी गरेपछि त्यसले प्रहरीभित्र असन्तुष्टि छाएको छ । एआइजी पाललाई मेट्रोबाट हटाउन खोजिएको छ । उनको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसंग सम्बन्ध बिग्रिएको प्रहरी स्रोत बताउंछ । आइजिपी थापाले आफुले गरेका सिफारीस नमानेको भन्दै पाल उनिसंग असन्तुष्ट छन् । उनिहरु दुवै प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा थिए ।

प्रहरीमा संगठनात्मक संरचना (ओएन्डएम) नगरी एआइजी र डिआईजीको दरबन्दी थप्ने काम सरकारले गरिरहेको छ । गत वर्ष विश्वराज पोखरेल र विहिवार सहकुल थापालाई एआइजी बनाउन सरकारले दुई वटा एआईजीको दरबन्दी थपेको थियो । फेरी पाचं जना डिआईजीको दरबन्दी थप्ने अन्तिम तयारीमा गृहमन्त्रालय पुगेको छ । आफु निकट प्रहरी अधिकारीहरुलाई बढुवा गर्नको लागी दरबन्दी थप्ने काम भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । तर,सरकारले दरबन्दी थप्ने कामलाई भने जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement