गृह प्रवक्ताको कीर्ते हस्ताक्षर गरेर क्षतिपूर्ति झ्वाम पार्न खाेज्ने पक्राउ


काठमाडौँ— गृह मन्त्रालयको नक्कली लेटरप्याड बनाइ प्रवक्ता रामकृष्ण सुवेदीको हस्ताक्षरसमेत कीर्ते गर्ने एक दम्पत्ती पक्राउ परेका छन्।

सरकारी छाप र दस्तखत किर्ते गर्ने कार्यमा संलग्न काभ्रे धुलिखेल बस्ने बारा निजगढ घर भएकी ३३ वर्षीया लक्ष्मी अधिकारी र उनका श्रीमान् ३८ वर्षीय राजनकुमार थापा सिंहदरबारको दक्षिण गेट नजिकबाट पक्राउ परेका हुन्।

उक्त स्थानमा सरकारी छाप र दस्तखत किर्ते गर्ने व्यक्ति रहेको भन्ने सूचनाको आधारमा महानगरिय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई शरीर खानतलासी गर्दा सरकारी छाप र दस्तखत किर्ते गरेको कागजात फेला परेको हो ।

उनीहरुको साथबाट गृह मन्त्रालयको नक्कली लेटर प्याडमा मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीको नक्कली हस्ताक्षर गरिएको पाइएको छ । प्रहरीले अधिकारीको बुबाको मृत्यु नेपाल सरकारको कारण भएकाले क्षतिपूर्ति स्वरुप ९५ करोड दिने निर्णय भएको र थप ८ करोड ७६ लाख दिने उल्लेख गरिएको कीर्ते कागज, १३ थान बैंकको चेक, विभिन्न व्यक्तिको राहदानी तथा नगद ४२ हजार २१० समेत बरामद भएको छ । सो घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement