निजगढ विमानस्थल निर्माण अघि बढाउन संसदीय समितिको निर्देशन


काठमाण्डु – प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउन निर्देशन दिएको छ ।

सोमबार बसेको उक्त समितिको बैठकले कानुनी अड्चन हटाएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउन निर्देशन दिएको हो । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने फैसला गरेको थियो । तर आज बसेको समितिको बैठकले कानुनी बाधा हटाएर विमानस्थल निर्माण अघि बढाउन सरकारलाई निर्देशन दिएको जनाइएको छ ।

‘राष्ट्रिय हित, सुरक्षा, र आर्थिक विकासका दृष्टिबाट अत्यावश्यक निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्यलाई शीघ्र अघि बढाउन आवश्यक कानूनी प्रशासनिक र व्यवहारिक कार्य गर्न नेपाल सरकारलाई निर्देशन दिने,’ समितिको बैठकको निर्णयमा भनिएको छ ।

यता सरकारले पनि निगजढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्यक्रम ल्याएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न ढाँचा निर्माण गरी लगानी बोर्डमार्फत आयोजना विकास कार्यक्रम अघि बढाइने जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement