निर्मलाका निम्ति न्याय माग्दै : माइतीघर मण्डलामा प्रदर्शन


काठमाडौं– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका निम्ति न्याय माग्दै शनिबार देशैभर प्रदर्शन भएको छ ।

‘निर्मलाका निम्ति न्याय’ #JusticForNirmala , #RageAgainstRape अभियानअन्तर्गत स्वतःस्फूर्त रूपमा देशभर प्रदर्शन भएको हो।

देशका विभिन्न ठाउँमा फरकफरक समयमा प्रदर्शन हुने बताइएको छ। केही ठाउँमा बिहानैदेखि प्रदर्शन भइरहेका छन्। काठमाडौंको माइतिघरमण्डलामा भने दिउँसो १ बजेदेखि प्रदर्शन सुरु भएको हो। प्रदर्शनमा सहभागीहरुले सरकारलाई दोषी पत्ता लगाउन आग्रह गरेका छन्।

घटनाको ५१औं दिन बितिसक्दा समेत दोषी पत्ता लाग्न सकेको छैन। साथै, नियोजित रुपमा प्रमाण लुकाइएका वा नष्ट गरिएका खबरहरु सार्वजनिक भएका छन्। प्रहरीले असम्बन्धित व्यक्तिहरुलाई यातना दिई घटनाका दोषी करार गर्न खोजेको भन्दै व्यापक विरोध भइरहेका छन्।

घटनामा उच्च तहकै व्यक्तिको संलग्नताको आशंका बढ्न थालेका छन्। यही घटनाको विषयलाई लिएर संसद समेत अवरुद्ध भइसकेको छ भने केही दिनअघिको प्रदर्शनमा एकजना बालकको ज्यान समेत गइसकेको छ। न्याय पाउने सम्भवना झन् कठिन बनेको भन्दै केही दिनअघि उनका बाआमा यज्ञराज र दुर्गादेवी पन्त समेत राजधानीमै आएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement