काठमाण्डु– राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटनाको छानबिन गर्न स्वास्थ्य मन्त्रालयले टोली परिचालन गरेको छ।
स्वास्थ्य मन्त्री निशा मेहताले शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिको बैठकमा घटना सार्वजनिक भएलगत्तै छानबिन समिति गठन गरी राजविराज पठाइएको जानकारी दिइन्।
उनका अनुसार नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रारको नेतृत्वमा पाँच सदस्यीय ‘एथिकल कमिटी’ र मन्त्रालयको ११औँ तहका क्युरेटिभ डिभिजन प्रमुख डा. पवन रायमाझीसहितको संयुक्त टोली गठन गरिएको हो।
घटनाको सत्यतथ्य तत्काल पत्ता लगाउन टोली राजविराज पुगिसकेको र अहिले घटनाबारे स्थलगत जाँचबुझ गरिरहेको मन्त्री मेहताले बताइन्।
उनले घटनामा स्वास्थ्यकर्मी, अस्पताल प्रशासन, नर्सिङ वा पारामेडिक्समध्ये जोसुकैको गल्ती वा कमजोरी पुष्टि भए पनि मन्त्रालयले दोषीमाथि कानुनी कारबाही अघि बढाउने प्रतिबद्धता जनाइन्।
‘घटनामा जोसुकैको कमजोरी देखिए पनि मन्त्रालय निर्मम भएर कानुनी कारबाही गर्छ,’ मन्त्री मेहताले बैठकमा भनिन्।




प्रतिक्रिया