काठमाण्डु- निजी क्षेत्रकै अग्रणी अस्पताल नर्भिक इन्टरनेशनल अस्पताल सोमबार वैशाख १ गतेदेखि ३२ औं वर्षमा प्रवेश गरेको छ ।
सन् १९९३ मा नर्भिक हेल्थकेयर एण्ड रिसर्च सेन्टरबाट सुरु भएको अस्पताल तीन दशकभन्दा लामो अवधिमा मुलुकको सर्वश्रेष्ठ ‘मल्टी स्पेसियालिटी अस्पताल’ बन्न सफल भएको छ ।
स्थापनाको ४ वर्षपछि अर्थात् सन् १९९७ मा भारतको स्कर्ट हर्ट इन्स्टीच्युटको सहकार्यमा हर्ट कमाण्ड सेन्टर स्थापना गरेको अस्पतालले सन् १९९९ मा न्युरोलोजी सेवा सुरु गरेको थियो ।सन् २००४ मा प्रसूति सेवा, २००५ मा युरोलोजी र सीटी स्क्यान सेवा, २००६ मा घुँडाको रिप्लेसमेन्ट सर्जरी, २००८ मा गंगादेवी चौधरी क्याथल्याब, २०१३ मा गाइनोलोजी र २०२२ मा मिर्गौला प्रत्यारोपण सेवा अस्पतालले सरु गरेको हो ।
यसबाहेक अस्पतालले सौन्दर्य तथा छाला रोग, मधुमेह तथा इन्डोक्राइनोलोजी, छाती तथा श्वासप्रश्वासजन्य रोग, बालबालिकाका स्वास्थ्य समस्या, ग्यास्ट्रोइन्टेरोलोजी, न्यूरोसाइकियाट्री, आइभीएफ, ओरल तथा म्याक्सिलोफेसियल, प्लास्टिक रिकन्सट्रक्टीभ सर्जरी, अर्थोपेडिक, पिडियाट्रिक अर्थोपेडिक, फिजियोथेरापीलगायतका सेवाहरू पनि सञ्चालन गरिरहेको छ ।
पछिल्लो समयमा अस्पतालमा विभिन्न जटिल समस्याको पनि सफल उपचार सम्पन्न भएका छन् । टाउकोमा पानी जम्ने समस्याका लागि ‘प्रोग्रामेबल शन्ट सिस्टम’ विधिबाट उपचार गरिएको छ भने पहिलो पटक पेटको सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिबाट सफल उपचार भएको छ । यस्तै, कलेजोको समस्या ‘बड चियारी सिन्ड्रोम’ को सफल उपचार गरिएको छ । चिरफार नगरी मेरुदण्डको शल्यक्रिया पनि सुरु गरिएको छ ।
यसबाहेक अस्पतालले सब–स्पेसियालिटी क्षेत्रको रुपमा विकास भइरहेको इमर्जेन्सी सेवालाई पनि प्रभावकारी रुपमा सञ्चालन गरिरहेको छ । जसका लागि एमडी तहका चिकित्सक, मेडिकल अफिसर, नर्सिङ तथा सिनियर प्यारामेडिकल टिम चौबिसै घण्टा सेवामा खटिनुभएको छ । प्रि–हस्पिटल सेवाअन्तर्गत फोन आएको १० मिनेटभित्रै एम्बुलेन्ससहितको टिम बिरामी भएको ठाउँमा पुग्ने व्यवस्था मिलाइएको छ । यस्तै, नर्भिकले हेलिकोप्टर उद्धार सेवा पनि सञ्चालनमा ल्याइरहेको छ ।
हाल १ सय ४० बेड क्षमतामा सञ्चालनमा रहेको अस्पतालले आफ्नो क्षमता वृद्धिका लागि अत्याधुनिक ८ तले भवन बनाउने क्रममा छ । सन् २०२५ भित्र सक्ने लक्ष्य राखिएको भवन निर्माणसँगै ३ सय बेडको क्षमता हुनेछ । अस्पताल सन् २०२१ को जुलाइ १७ देखि पब्लिक लिमिटेडमा रुपान्तरण भएको छ र निकट भविष्यमै सर्वसाधारणका लागि शेयर जारी गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया