एनपीएल ३ : ब्याटिङ र बलिङमा दीपेन्द्र उत्कृष्ट, कप्तानमध्ये कसको प्रदर्शन कस्तो ?

एनपीएल ३ : ब्याटिङ र बलिङमा दीपेन्द्र उत्कृष्ट, कप्तानमध्ये कसको प्रदर्शन कस्तो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तिम चरणमा पुगेको छ।

उपाधि विजेताको टुङ्गो लाग्न अब तीन खेल बाँकी छन्। प्रतियोगितामा सहभागी टोलीका कप्तानको व्यक्तिगत प्रदर्शन हेर्दा सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी सफल देखिएका छन्।

ऐरीले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा प्रभावशाली प्रदर्शन गर्दै सुदूरपश्चिमलाई प्लेअफसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उनले आठ खेलमा २०२ रन बनाएका छन्। यस क्रममा तीन अर्धशतक प्रहार गरेका उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन्।

बलिङतर्फ उनले पाँच विकेट लिएका छन्। पहिलो संस्करणको एनपीएलमा पनि उत्कृष्ट प्रदर्शन गरेका ऐरीले कार पुरस्कार जितेका थिए। यस संस्करणमा पनि उनको प्रदर्शनले उक्त पुरस्कार जित्ने सम्भावना बलियो बनाएको छ।

लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलको प्रदर्शन पनि सन्तोषजनक छ। उनको नेतृत्वमा लुम्बिनी फाइनलमा पुगेको छ। रोहितले सात खेलमा १२१ रन बनाउनुका साथै चार विकेट लिएका छन्। उनले गत संस्करणमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै कार पुरस्कार जितेका थिए।

काठमाण्डु गोर्खाजका कप्तान करण केसीले पनि यस संस्करणमा राम्रो प्रदर्शन गरेका छन्। उनको नेतृत्वमा टोलीले प्लेअफमा स्थान बनाएको छ। करणले सात खेलमा आठ विकेट लिनुका साथै ८९ रन बनाएका छन्।

चितवन राइनोजका कप्तान जिम्बाब्वेका अलराउन्डर सिकन्दर रजाको व्यक्तिगत प्रदर्शन भने अपेक्षाअनुसार हुन सकेको छैन। उनको नेतृत्वमा चितवन प्लेअफमा पुगे पनि उनले पाँच खेलमा ५६ रन मात्र बनाएका छन्। बलिङतर्फ उनले पाँच विकेट लिएका छन्।

कर्णाली याक्सले यस संस्करणमा सुरुआती खेलमा सोमपाल कामी र लिग चरणको अन्त्यतिर डेभिड मिलरलाई कप्तानको जिम्मेवारी दिएको थियो। सोमपालले सात खेलमा एक अर्धशतकसहित १२५ रन बनाएका छन्। बलिङतर्फ उनले ८.९० को इकोनोमी रेटमा १० विकेट लिएका छन्।

त्यस्तै, मिलरले कर्णालीका लागि चार खेलमा एक अर्धशतकको मद्दतमा ११० रन बनाएका छन्। यस संस्करणमा उनको उच्च स्कोर अविजित ९३ रन हो। मिलरले पहिलोपटक एनपीएल खेलेका हुन्।

विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेको नेतृत्वमा टोलीको प्रदर्शन उतारचढावपूर्ण रह्यो। विराटनगर प्लेअफमा पुग्न सकेन। सन्दीपले सात खेलमा सात विकेट मात्र लिए। पाँच खेलमा उनी विकेटविहीन रहे। ब्याटिङतर्फ पनि उनको प्रदर्शन उल्लेखनीय हुन सकेन।

पोखरा एभेन्जर्सले सुरुआती खेलमा कुशल भुर्तेललाई कप्तान बनाएको थियो। टोलीको लगातार खराब प्रदर्शनपछि लिग चरणको अन्त्यतिर श्रीलङ्काका अलराउन्डर चमिका करुणारत्नेलाई कप्तानीको जिम्मेवारी दिइयो।

कुशलले सात खेलमा दुई अर्धशतकसहित २३५ रन बनाएका छन्। बलिङतर्फ उनले छ विकेट लिएका छन्। त्यस्तै, करुणारत्नेले छ खेलमा ८५ रन बनाउनुका साथै चार विकेट लिएका छन्।

जनकपुर बोल्ट्सले यस संस्करणमा अमेरिकाका अलराउन्डर हरमित सिंहलाई कप्तान बनाएको थियो। उनको नेतृत्वमा जनकपुर अङ्कतालिकाको पुछारमा रह्यो। यद्यपि, व्यक्तिगत रूपमा हरमितले बलिङमा राम्रो प्रदर्शन गरे। उनले सात खेलमा ११ विकेट लिनुका साथै ९० रन बनाएका छन्।