नेपालगन्ज– निर्धारित समयभित्र निर्माण तथा मर्मतको काम सम्पन्न गर्न नसकेपछि सडक डिभिजन कार्यालय नेपालगन्जअन्तर्गतका तीनवटा अलपत्र आयोजनाको ठेक्का सम्झौता तोडिएको छ ।
सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख नरेन्द्रप्रसाद भट्टका अनुसार रत्न राजमार्गअन्तर्गत जमुनाहादेखि पन्ध्रेखोलासम्मको सडक मर्मत, बर्दियाको औरही नदी पुलको पहुँचमार्ग सुधार तथा ठाकुरबाबास्थित ओम आदर्श विद्यालयदेखि भद्दी जोड्ने सडक सुधार आयोजनाको ठेक्का रद्द गरिएको हो ।
पटकपटक म्याद थप गर्दा पनि निर्माणकार्यले गति लिन नसकेपछि भौतिक पूर्वाधार मन्त्रालयको निर्देशनमा ठेक्का सम्झौता तोडिएको कार्यालयले जनाएको छ । अब ती आयोजनालाई नयाँ प्रक्रियाबाट अघि बढाउने तयारी गरिएको छ ।
यसैबीच, बर्दियाको गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११ जब्दी जोड्ने जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।
सडक डिभिजन कार्यालय नेपालगन्ज र चितवनस्थित एमआर एन्ड ग्रुपबीच गत कात्तिक १६ गते ६७ करोड ४५ लाख ६९ हजार १५० रुपैयाँमा पुल निर्माण गर्ने सम्झौता भएको हो । सम्झौताअनुसार ४२० मिटर लामो र ११ मिटर चौडाइको दुई लेनको पुल ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ ।
पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुरानो जब्दीघाट पुल हस्तान्तरण नहुँदै २०७२ सालको बाढीले भासिएको थियो । त्यसपछि सीमित सवारीसाधन सञ्चालन हुँदै आएकोमा २०७९ सालको बाढीले पुलका तीनवटा स्ल्याब बगाएपछि आवागमन पूर्ण रूपमा बन्द भएको थियो ।
नयाँ पुल निर्माणसँगै गुलरिया र बारबर्दियाबीचको आवागमन सहज हुने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया