ओली–प्रचण्ड ‘वान टू वान’ वार्ताः प्रचण्ड भन्छन्–एकताको अन्तिम चरणमा पुग्यौं


काठमाडौं– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टी एकताका विषयमा अढाइ घण्टा ‘वान अन वान’ वार्ता भएको छ।

बालुवाटारमा शुक्रबार बेलुका भएको वार्तामा पार्टी एकीकरण प्रक्रियालाई अन्तिमरुप दिने विषयमा छलफल भएको थियो। वार्तामा पार्टी एकतामा मिल्न बाँकी विषयमा सकारात्मक छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए।

गत वैशाख ९ गते पार्टी एकीकरण गर्नु पर्ने सुझाव वाम गठबन्धनद्वारा गठित कार्यदलहरुले दिएपनि ओली र दाहालबीच समझदारी नबन्दा एकीकरण लम्बिएको छ।  एमाले र माओवादी केन्द्रबीच यही वैशाख ९ गते पार्टी एकीकरण हुने भनिए पनि अन्ततः केही विषय मिल्न बाँकी भन्दै उक्त दिन पार्टी एकता घोषणा हुन सकेन। त्यसपछि दुवै अध्यक्षबीच शुक्रबार पहिलो पटक भेटवार्ता भएको हो।

वार्तापछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले भने,‘हामी दुईबीच सबै कुरा मिलिसकेको छ, एकता प्रक्रिया अन्तिममा पुग्यो।’

एमाले नेता सुवास नेम्वाङ्गका अनुसार दुई नेताबीचको छलफलमा बुद्ध जयन्तीको कार्यक्रमका लागि प्रधानमन्त्री ओली केही दिन राजधानी बाहिर जाने तथा प्रचण्ड पनि पार्टीको कार्यक्रमका लागि राजधानी बाहिर रहने भएकाले दुवैजना फर्केलगत्तै पुनः छलफल गर्ने समझदारी भएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement