ओली-दाहाल दुई घण्टा भेटवार्ता : टुंगो लागेन एकताको मिति


काठमाडौ‌ – प्रधानमन्त्री एवंम एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार साँझ भेटवार्ता भएको छ । पार्टी एकताको विषयमा ओली–दाहाल भेटवार्तामा छलफल भएको छ ।

बलुवाटारमा भएको भेटवार्तामा पार्टी एकताको विषयमा छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार चेतन अधिकारीले जानकारी दिए । उनीहरु बीचमा एकताको मिति तय गर्ने लगायतका विषयमा पनि छलफल भएको छ । ओली र दाहालको भेटवार्तामा पनि एकता मिति भने तय हुन सकेन ।

पार्टी एकतामा असमझदारी देखिएका बेला एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रवार साढे दुई घण्टा छलफल भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा पार्टी एकतामा देखिएका समस्या र एकताको मितिबारे छलफल भएको स्रोतले बतायो ।

कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन वैशाख ९ गते दुई पार्टी एकता गर्ने घोषणा गरिएपनि एकतामा अनुपात र पार्टी एकतापछिको दाहालको स्थानबारे सहमति जुटन नसक्दा एकता पछि धकेलिँदै गएको छ । दाहालले वैशाख १४ गते एकताको घोषणा गर्ने सार्वजनिक घोषणा गरेका थिए । तर ओलीसँगको छलफलपछि पनि मिति भने तय भएन ।

बुद्ध जयन्तीको कार्यक्रमका लागि प्रधानमन्त्री ओली केही दिन राजधानी बाहिर रहने र दाहाल पनि पार्टीको कार्यक्रमका लागि राजधानी बाहिर रहने भएकाले दुवैजना फर्केलगत्तै पुनः छलफल गर्ने समझदारी बनेको एमाले नेता सुवास नेम्वाङ्गले बताए ।

पछिल्लोपटक दाहालले पार्टी एकतापछि आफ्नो भूमिका स्पष्ट हुनुपर्ने अडान राख्दै आएका छन । पार्टी एकतापछिको महाधिवेशनले या त आफूलाई पार्टी अध्यक्ष बनाउनुपर्ने वा प्रधानमन्त्री बन्ने कुराको सुनिश्चितता हुनुपर्ने अडान दाहालले एमाले नेतृत्वसँग राख्दै आएको स्रोतले बतायो । पार्टी एकता गर्दा माओवादीमा धेरै नेता रहेकाले उनिहरुको व्यवस्थापनमा लचिलो बनिदिन पनि दाहालले एमालेसँग प्रस्ताव गर्दै आएका छन ।

ओलीसँगको वार्तापछि माओवादी केन्द्रका अध्यक्ष दाहालले अब एकताप्रक्रिया अन्तिममा पुगेको बताएका छन् । उनले दुईजनाबीच सबै कुरा मिलिसकेको र अब एकता घोषणा गर्न मात्रै बाँकी रहेको प्रतिक्रिया बालुवाटारमा दिएका छन्।

कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा बैशाख ९ गते एकताको तोकिएको मिति केही विषयमा सहमति नहुदाँ तुहिएको थियो । जनयुद्ध, निर्वाचन चिन्ह र नेता व्यवस्थापनका विषयमा सहमति हुन सकेको छैन ।

एमालेले स्थानीय निर्वाचन र संघीय निर्वाचनको परिणामको आधारमा नेता व्यवस्थापन हुनुपर्ने बताइरहेको छ भने माओवादीले समानताको आधारमा एकता हुनुपर्ने अडान राख्दै आएको छ । प्रस्तावनामा नै एमालेले जनक्रान्ति र माओवादीले जनयुद्ध राख्नु पर्ने फरक फरक मत राखिरहेका छन् । अाजकाे अन्नप्रर्णपाेस्टमा याे खबर छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement