कामु प्रधानन्यायाधीशले सत्ता गठबन्धनलाई सहज हुने गरि फैसला गरेको एमाले अध्यक्ष ओलीको आरोप


काठमाण्डु-  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको भुमिकामाथि प्रश्न उठाएका छन् । राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले कामु प्रधानन्यायाधीशको भूमिकामाथि प्रश्न उठाएका हुन् ।

अध्यक्ष ओलीले कामु प्रधानन्यायाधीश कार्कीले सत्ता गठबन्धनलाई सहज हुने गरि फैसला गरेको आरोप लगाए । उनले हालैमात्र कामु प्रधानन्यायाधीश कार्की र सत्ता गठबन्धनका नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच भेट भएको विषय समेत दावी गरे ।

‘तपाईँहरू देखिरहनुभएको छ, समाचारहरू अखबार र अनलाइनमा आइरहेका छन् । एकजना नेता कुदेर कामु प्रधानन्यायाधीश कहाँ गएर २ घण्टा बसे । त्यहाँबाट बाहिर निस्किएपछि ती नेता घरतिर लागे, श्रीमानजी अदालततिर जानुभयो । त्यहाँ के भयो ? लेनदेन हुने गरेको छ नेपालमा । हामी विनम्रताका साथ आग्रह गर्छौं, सम्मानति सर्वोच्च अदालतबाट न्याय सम्पादन हुनुपर्छ, कुनै खुसामद होइन । कुनै खासखुस, कुनै लेनदेन, कुनै घासघुस जसको चर्चा चलेको छ, त्यही कुरा निरन्तर हुनु हुँदैन ।’ अध्यक्ष ओलीले भने ।

त्यसैगरी उनले हालको सत्ता गठबन्धन दुई दिनको पाहुना भएको समेत दावी गरे । त्यसकारण दुई दिनको पाहुनाको पछि लागेर कुनै पनि फैसला नगर्न न्यायाधीशहरुलाई उनले आग्रह गरेका छन् ।

‘अदालतका न्यायाधीशहरू भनिरहेका छन् अदालत भ्रष्ट भयो,बदनाम भयो । त्यसबाट मुक्त गर्नका लागि श्रीमान न्यायाधीशहरूलाई आग्रह गर्न चाहान्छु । मुख्यरूपमा न्याय सम्पादन होस् । यस सत्ता गठबन्धनको उलमुलामा अदालत पर्नु हुँदैन । यो गठबन्धन भनेको २ दिनको पाहुना हो । ढोडका लौराको भर परेर नचल्न सुझाव दिन चाहंन्छु,’ उनले भने ।

त्यस्तै अध्यक्ष ओलीले नेकपा एमाले कुनै पनि बेथिति सहन नसक्ने दावी गरे । ‘ यदि देशको पक्षमा, न्यायको पक्षमा कदम चाल्नुपरेमा एमाले पनि कदम चाल्न सक्छ र तयार छ भन्ने कुरा पनि राख्न चाहान्छु । हामी सबै कुरा सजगताका साथ साथ हेरिरहेका छौं । कुनै पनि बेथिति सहँदैनौं ।’, उनले भने ।

कामु प्रधानन्यायाधीशमाथि खनिए अध्यक्ष ओली
सत्ता गठबन्धनसँगको तालमेलमा कामु प्रधानन्यायाधीश कार्कीले मुद्धाहरुको फैसला गरिरहेको ओलीको आरोप छ । अध्यक्ष ओलीले कामु प्रधानन्यायाधीश सत्ता गठबन्धनको इसारामा चलेको बताउँदै उनको भुमिका माथि प्रश्न उठाएका हुन् ।

उनले आशंका जनाएको मुख्य मुद्दा चाहिँ संवैधानिक इजलासमा विचाराधीन संवैधानिक अंगका नियुक्तिहरूको हो । कामु प्रधानन्यायाधीश कार्कीले जति सक्दो चाँडो सुनुवाइ सकेर सो मुद्दामा अतिरिक्त सक्रियता देखाएको आरोप लागेको छ ।

पछिल्लो समय सत्ता गठबन्धनसँग सम्बन्धित आईजीपी नियुक्ति प्रकरण र बाजुराको बुढीगंगा पुनः निर्वाचन गर्ने मुद्दा आफ्नै इजलासमा पार्ने र सत्तारुढ दललाई अनुकुल हुने गरी आदेश जारी गर्ने काम भएको प्रतिपक्ष दल एमालेको आरोप छ ।

कामु प्रधानन्यायाधीश कार्कीले न्यायपरिषदमार्फत कतिपय न्यायाधीशहरूमाथि छानीछानी बदला लिने ढंगले कारबाही अघि बढाउने र सत्ता गठबन्धनलाई सहज हुने फैसला तथा आदेशहरू दिने क्रम जारी रहेको बेला अध्यक्ष ओली उनीमाथि खनिएका हुन् ।

उनले अदालतको सुदृढिकरणका नाममा आफु विरोधी न्यायाधीशहरुमाथि कार्वाहीको तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement