सिरियाको गुटाबाट एक लाख २८ हजार विस्थापित


दमासकस– सिरियाको राजधानी दमासकसदेखि पूर्वीक्षेत्रमा पर्ने गुटाबाट एक लाख २८ हजार जना विस्थापित भएका छन् । विद्रोहीहरूको नियन्त्रणमा रहेकाले सो ठाउँ उनीहरूले छाडेका राज्यद्वारा सञ्चालित समाचार संस्था सानाले बुधबार जनाएको छ ।

सैन्य अधिकारीहरूलाई उद्धृत गर्दै सानाले संप्रेषण गरेको समाचार अनुसार ठूलो संख्यामा आमनागरिक विस्थापित भएका हुन् । सुरक्षाकर्मीहरूले घटनास्थलमा सुरक्षा कारबाही जारी राखको पनि समाचारमा उल्लेख गरिएको छ ।

पछिल्लो विवरणअनुसार मंगलबार मात्रै झण्डै ५ सय जना आमनागरिक गुटाबाट विस्थापित भएका छन् । उनीहरू गुटाबाट भागेर सरकारको नियन्त्रणमा रहेको वाफिडीन क्षेत्रमा पुगेका हुन् । वाफिडिन क्षेत्र राजधानी दमासकसदेखि उत्तरपूर्वी क्षेत्रमा पर्दछ ।

सिरियाली जिहादी समूहलाई आफ्नो कब्जामा राख्दै आएको इस्लामिक स्टेट्स (आईएस) समूहले राजधानी दमास्कसको दक्षिणी क्षेत्रमा सरकारी सेनामाथि आक्रमण गरेको छ । आईएस समूहले दमासकस र प्यालेस्टिनी शिविर यारमुक, हजार अल–असाद तथा तादामुन क्षेत्रमा आफ्नो उपस्थिति देखाउँदै आएको छ । पूर्वी गुटा क्षेत्रबाट द्वन्द्वको भुमरीबाट बच्नकै लागि आमनागरिक विस्थापित हुनुपरेको हो ।

विद्रोहीको राम्रो आधारस्थलका रूपमा चिनिने गुटा क्षेत्रमा सरकारी फौजले विगत एक महिनायता चलाएको कारबाहीपछि ठूलो संख्यामा सर्वसाधारण पलायन भई सुरक्षितस्थलतर्फ गएको सिरियाली सेनालाई उद्धृत गर्दै सानाले जनाएको छ । सिरियाली राज्यद्वारा सञ्चालित टेलिभिजनले पनि करिब चार लाख जनसंख्या रहेको गुटाबाट विस्थापित हुनेहरूको संख्या बढीरहेको समाचार प्रसारण गरेको छ ।

विस्थापित सबैजना सिरियाली सेनाले मानवीय सहयोगका लागि खुला गरेको बाटोे प्रयोग गर्दै गुटाबाट बाहिरिएका विभिन्न सरकारी सञ्चारमाध्यमले जनाएका छन् । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस
Advertisement