काठमाडौंका ११ ब्रान्डका पानीमा फिकल कोलिफर्म फेला, २ लाख जरिवाना तिराइयो

काठमाडौंका ११ ब्रान्डका पानीमा फिकल कोलिफर्म फेला, २ लाख जरिवाना तिराइयो


काठमाण्डु– काठमाडौँ महानगरपालिकाले विभिन्न ११ ब्रान्डका पानीमा दिशामा पाइने फिकल कोलिफर्म भेट्टाएको छ ।महानगरपालिकाले परीक्षणपछि पिउन अयोग्य रहेको पुष्टि भएको भन्दै ११ ब्रान्डका पानी बिक्रीमा रोक लगाएको हो ।

भदौ १२ गतेदेखि २८ गतेका बीचका विभिन्न दिनमा विभिन्न स्थानहरुबाट २१ वटा पानीको नमूना लिइएको थियो।नमूना संकलन गरेर काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो।

यसरी पठाइएका २१ वटा नमूनामध्ये ११ वटामा फिकल कोलिफर्म देखिएको हो । प्रति १ सय मिलिलिटर नमूना परीक्षणमा कोलोनी फर्मिङ् युनिट (सीएफयू)मापदण्ड विपरीत देखिएको छ । कोलोनी फर्मिङ् युनिट (सिएफयु) सुक्ष्मजीवको अवस्था हेर्न प्रयोग गरिने युनिट हो ।

महानगरले ती ११ ब्रान्डलाई २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ भने जरिवाना राजस्व खातामा दाखिला गर्न भनिएको छ।

जरिवाना र बिक्री वितरणमा रोक लगाइएका पानीका ब्राण्डहरुमा ब्याच नं. १३ को फ्रेस ड्रप पानीमा फिकल कोलिफर्मको मान २३ कोलोनी फर्मिङ् युनिट (सीएफयु) देखियो। उपभोक्ताबाट गुनासो आएपछि भदौ १८ गते यसको नमूना लिइएको थियो। पञ्चरत्न ग्रुपले उत्पादन गर्ने यो पानी टोखा नगरपालिका वडा नं. ८ बाट उत्पादन भइरहेको छ।

भदौ १२ गते नमूना लिइएका पानीमध्ये ब्याच नं. १२ को अक्वा पिसमा ८० र अक्वा टोखाको पानीमा फिकल कोलिफर्मको मान ३० कोलोनी फर्मिङ युनिट (सीएफयु) देखियो। अक्वा पिस टोखा ८ मा रहेको पिस स्प्रिङ वाटरले उत्पादन गरेको पानी हो भने अक्वा टोखा, टोखाकै अक्वा एस एन. एस. वेभरेजले उत्पादन गरेको पानी हो।

व्याच नं. ६ को कोलभोतेश्वर ब्रान्डको भदौ २४ गते नमूना लिइएको हो। यसमा फिकल कोलिफर्मको मान ११६ कोलोनी फर्मिङ् युनिट (सिएफयु) छ। यो पानी कागेश्वरी मनोहरामा सञ्चालित उत्तरवाहिनी फुड एण्ड बेभरेजले उत्पादन गरेको हो।

भदौ २४ गते नै नमूना लिइएका पानीहरुमा गोकर्णेश्वरमा सञ्चालित अक्वा सुन्दरी उद्योगले उत्पादन गर्ने अक्वा डिबी, कागेश्वरी मनोहरा, वडा नं. ६ मा रहेको स्नो क्युव ड्रिङ्किङ् वाटरले उत्पादन गर्ने अकुवा, गोकर्णेश्वरमा रहेको स्तुपा इष्डष्ट्रीले उत्पादन गरेको क्युब प्रोसेस ड्रिङिकङ् वाटर र गोकर्णेश्वरमा सञ्चालित मुन लाइट स्प्रिङ मिनरल वाटरले उत्पादन गरेको अक्वा माइल्ड नामको पिउने पानीमा फिकल कोलिफर्म भेटियो। अक्वा डिबीमा ५, अकुवामा १७, व्याच नं.२०० को क्युब प्रोसेस ड्रिङ्किङ वाटरमा ३ सयभन्दा धेरै र व्याच नं। ४२ को अक्वा माइल्ड व्राण्डको पानीमा २१ कोलोनी फर्मिङ् युनिट (सीएफयु)भेटिएको छ।

भदौ २८ गते संकलन गरिएका नमूनामध्ये अक्वा कपन र अक्वा गौरीशंकरमा कोलिफर्म भेटियो। अक्वा कपनमा फिकल कोलिफर्म मान ४ र अक्वा गौरशंकरमा ३ सयभन्दा धेरै कोलोनी फर्मिङ् युनिट ९सिएफयु० देखिएको छ। अक्वा कपन एम। के। मिनरल वाटर उद्योगले बूढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्रबाट उत्पादन गर्छ। अक्वा गौरी शंकर, गोकर्णेश्वरमा रहेको कोशी मिनरल उद्योगले उत्पादन गर्छ।