पाकिस्तानी प्रधानमन्त्री भोली काठमाडौं पुग्दै, प्रचण्ड र ओलीसंग भेटवार्ता गर्ने तय


काठमाडौं–पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकान अब्बासी नेपालको दुई दिने भ्रमणमा काठमाडौं आउन लागेको परराष्ट्रमन्त्रालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपालको दुई दिने औपचारिक भ्रमणका क्रममा सोमबार काठमाडौं अवतरण गर्दैछन् । परराष्ट्रमन्त्रालयले आईतबार विज्ञप्ती जारी गर्दै पाकिस्तानी प्रधानमन्त्री अब्बासीले प्रधानमन्त्री ओलीसंगै राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाएको छ ।

प्रधानमन्त्री ओलीसंगको द्धिपक्षिय भेटमा आपसी हितका विषयमा छलफल हुने परराष्ट्रमन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । प्रधानमन्त्री ओलीले पाकिस्तानी प्रधानमन्त्री अब्बवासीको सम्मानमा रात्रीभोज दिने कार्यक्रम छ ।पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणलाई उत्तरी छिमेकी मुलुक चीनसंग जोडेर हेरिएको छ । पाकिस्तान र नेपाल दुवै मुलुकसंग चीनको घनिष्ट सम्बन्ध रहेको छ ।

प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारीअनुसार अब्बासीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग भेटवार्ता गर्ने कार्यक्रम छ । एमाले अध्यक्ष समेत रहेका ओली प्रधानमन्त्रीमा निर्वाचित भएसंगै भारत र चीनका प्रधानमन्त्रीले बधाई दिएका थिए ।

प्रधानमन्त्रीलाई बधाई दिन नेपाल आउने अब्बासी पहिलो विदेशी पाहुना हुन् । पाकिस्तानबाट लामो समययता उच्च तहको भ्रमण हुन सकेको थिएन् । भारतसंगको निकट सम्बन्धका कारण कुनै पनि सरकारले पाकिस्तानसंगको सम्बन्ध सुदृढ गर्न चासो नदेखाएपनि ओली नेतृत्वको सरकारले भने पहिलो पाहुनका रुपमा नै पाकिस्तानी प्रधानमन्त्रीलाई नेपालमा स्वागत गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अब्बासी मंगलवार सांझ स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement