पाकिस्तानी प्रधानमन्त्री अब्बासी आज ओर्लिदै, सैनिक मञ्चमा ‘गार्ड अफ अनर’ दिइने


काठमाडौं – पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी आज अपरान्ह दुई बजे काठमाडौं ओर्लन लागेका छन् । अब्बासी दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आउदैछन् । प्रधानमन्त्री केपी ओलीलाई बधाई दिन र दक्षिण एसियाली सहयोग संगठन (सार्क) को शिखर सम्मेलन आयोजनाबारे अध्यक्ष मुलुकसँग छलफलका लागि अब्बासी नेपाल आउन लागेका हुन् ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीलाई बधाई दिन पाकिस्तानी समकक्षी अब्बासी काठमाडौं आउन लागेको बताए। ओलीले सोमबार नै अब्बासीको सम्मानमा होटल याक एन्ड यतीमा रात्रिभोज दिनेछन् भने त्यहीं नै दुईपक्षीय वार्ता गर्नेछन्। भेटमा दुई नेताबीच दुईपक्षीय सम्बन्धबारे समग्र विषयमा छलफल हुने र यसबारे सबै तयारी पूरा भइसकेको समेत रिमालले जानकारी दिए। वार्तामा पूर्वप्रधानमन्त्री र राजनीतिक उच्च नेतालाई बोलाइएको छ। यसअघि पाकिस्तानको ‘एडभान्स टिम’ आएर सबै तयारी पूरा गरिसकेको छ।

ओली प्रधानमन्त्री भएपछि पहिलो उच्चस्तरीय पाहुनाका रूपमा अब्बासी काठमाडौं उत्रँदै गर्दा प्रतिनिधिसभाको पहिलो बैठक बसिरहेको हुनेछ। विशेष विमानमा ३२ सदस्यीय टोलीसहित आउन लागेका अब्बासी नेपालमा १९ घण्टा रहनेछन्। पाकिस्तानी प्रधानमन्त्री आउने अघिल्लो दिनमात्र परराष्ट्र मन्त्रालयले भ्रमणबारे सार्वजनिक गरेको थियो । पाकिस्तानको विदेश मन्त्रालयले पनि आइतबार नै विज्ञप्ति जारी गरी दुईपक्षीय सहकार्यमा शिक्षा, पर्यटन, व्यापार, सैनिक सुरक्षा, जनस्तरको सम्बन्धलगायत आपसी हितमा छलफल हुने जनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार पाकिस्तानी प्रधानमन्त्रीले मंगलबार स्वदेश फर्कनुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्नेछन्।

२०७१ मंसिरमा काठमाडौंमा आयोजना भएको १८ औं शिखर सम्मेलनपछि सार्क सम्मेलनको प्रक्रिया अघि बढ्न सकेको छैन। त्यसलाई अघि बढाउन प्रधानमन्त्री अब्बासीले जोड दिने आकलन छ। चीनको विश्वासिलो र व्यावसायिक साझेदारका कार्यकारी प्रमुख यतिबेला नेपाल आउनुलाई कूटनीतिक जानकारहरूले चासो व्यक्त गरेका छन्। नेपालमा हालै बनेको वाम गठबन्धन सरकारलाई चीन निकटका रूपमा हेरिएको अवस्थामा यो भ्रमण हुन लागेको छ।

टुँडिखेलमा ‘गार्ड अफ अनर’

पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई टुँडिखेलको सैनिक मञ्चमा ‘गार्ड अफ अनर’ दिइने भएको छ। यसअघि त्रिभुवन विमानस्थलमै गार्ड अफ अनर दिने गरिएको थियो। प्रधानमन्त्री ओलीको निर्देशनमा यसलाई परिवर्तन गरिएको हो। ‘अहिलेलाई हामीले टुँडिखेललाई नै तय गरेका छौं। सम्भवत: अबका दिनमा त्यहीँ हुन्छ होला,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले भने। गार्ड अफ अनर दिँदा समकक्षी नै उपस्थित हुनुपर्ने र त्रिभुवन विमानस्थलमा दिइँदा लिन नै समकक्षी गएजस्तो हुने भएको भन्दै परिवर्तन गरिएको हो। अब्बासीलाई स्वागत गर्न अर्थमन्त्री युवराज खतिवडालाई विमानस्थल पठाउने निर्णय सरकारले निर्णय गरेको छ। विमानस्थलबाट उनी सीधै टुँडिखेल जानेछन्। गार्ड अफ अनरको कार्यक्रम सकिएपछि उनी बस्ने होटल हायात पुग्नेछन्।

प्रतिक्रिया दिनुहोस
Advertisement