प्रधानाध्यापकलाई खुकुरी हान्ने पक्राउ


काठमाडौं – पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक इन्द्रकुमारी पुनलाई खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । घरबाट विद्यालय जाँदै गर्दा एकान्तमा प्रधानाध्यापक पुनमाथि बुधबार खुकुरी प्रहार भएको थियो ।

खुकुरी प्रहार गरी फरार भएका म्याग्दीको मालिका गाउँपालिका–२ रुम बिलबाङका २७ वर्षीय रमेश पुनलाई प्रहरीलेपक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले निस्कोट र रुमको बीचमा रहेको खोलाबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए ।

घटनाको विस्तृत अनुसन्धान थालिएको मरासिनीको भनाई छ । खुकुरी प्रहारबाट गम्भीर घाइते बनेकी प्रअ पुनलाई उपचारका लागि हेलिकप्टरमार्फत पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा लगिएको छ । घाइते भएकी पुनको कान, टाउको र हातमा गम्भीर चोट लागेको छ । खुकुरी प्रहार गर्नुको कारण भने नखुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement