काठमाण्डु- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपलब्ध गराउने घाेषणा गरेकी छन् । बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीहरुसँगको छलफलमा उनले आफूले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपभोग गर्न दिने गरी प्रक्रिया अगाडि बढाएको बताएकी हुन् ।
विद्युतको घरेलु उपयोग जसले बढी गर्छ उसलाई विद्युत महशुल पनि कम गर्ने गरी तयारी गरिरहेको उनले जानकारी दिइन् । उनले भनिन्, ‘गरिबीको रेखामुनि भएका आधारभूत नागरिक, उनीहरूलाई कही राहत दिनुपर्छ भनेर निःशुल्क विद्युत् दिने गरेर एउटा तयारी मैले गरिरहेको छु । झन्डै–झन्डै हामी त्यसको निष्कर्षमा पुग्दैछौँ । घरेलु उपभोग बढाउनका लागि जसले बढी बाल्छ उसलाई अलिकति रेट कम होस् भन्ने उद्देश्यद्वारा त्यसको तयारी गरेको छु मैले ।’
साथै मन्त्री भुसालले सबै कृषियोग्य भूमिमा सिँचाइ पुर्याउनका निम्ति पनि आफू क्रियाशिल रहने बताइन् । उनले सातै प्रदेशका नदीबाट विद्युत उत्पादनको अध्ययन गरिरहेको समेत खुलासा गरीन् ।
प्रतिक्रिया