माओवादीको स्थायी समिति बैठकमा प्रचण्डले भने : भारतीय राजदूतले मसंग खुलेर कुरा गरेनन्


काठमाण्डु– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागी भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । क्वात्राले प्रचण्डलाई मंगलवार भेटेका थिए । भेटमा भारतीय राजदूतले नयां सरकारसंग काम गर्न भारत इच्छुक रहेको बताएका थिए ।

माओवादी केन्द्रको बुधवार बसेको स्थायी समिति बैठकमा अध्यक्ष दाहालले भारतीय राजदूतले भेटमा जो सरकारमा आए पनि राम्रो सम्बन्ध बनाएर काम गर्ने बताएको बिफ्रिंग गरेको स्रोतले बतायो । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत आफ्ना सकमक्षीलाई बधाई दिइसकेको उल्लेख गर्दै वीचमा केही समस्या भए त्यसलाई समाधान गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

भारत र माओवादी नेतृत्वबीच पछिल्लो केही समययता सुमधुर सम्बन्ध नभएको बेला भारतीय राजदूत प्रचण्डलाई भेटन खुमलटार पुगेका हुन । उनले भेटमा खुलेर कुरा नगरेको गुनासो समेत प्रचण्डले स्थायी समिति बैठकमा गरेको माओवादी केन्द्रका एक नेताले बताए ।

भारतको संस्थापन पक्षले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार राख्न खोजेको माओवादी केन्द र कांग्रेसका नेताहरुले आरोप लगाउंदै आएका थिए ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री बन्न समेत अस्विकार गर्नुलाई भारतसंग जोडेर हेरिएको थियो । तर,ठाकुरले भने आफुसंग संसदमा नम्बर नभएकाले आफुले प्रधानमन्त्रीमा दावी नगर्ने बताएका थिए ।

प्रचण्डलाई भेट्नुअघि भारतिय राजदूत एमाले अध्यक्ष ओलीलाई भेटेर बालकोट पुगेका थिए । उनले पछिल्लो समय राजनीतिक भेटघाटलाई तिव्र पारेका छन् । कांग्रेस सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त भएसंगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार देउवालाई फोन गरेर बधाइ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement