प्रशान्त सागरमा ल्यानिनो चक्र चल्दा नेपालमा बढी वर्षा

प्रशान्त सागरमा ल्यानिनो चक्र चल्दा नेपालमा बढी वर्षा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्ष हिउँदमा तुलनात्मक रूपमा देशभर धेरै वर्षा भइरहेको छ । गत शनिबार बेलुकादेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावका कारण फेरि देशभर वर्षा भइरहेको छ । बुधबार काठमाडौंमा पनि वर्षा भयो । अहिले चलिरहेको पश्चिमी वायु शुक्रबारसम्म पूर्व प्रवेश गरेर सकिएलगत्तै पुनः अर्को जलवाष्प आउन सक्ने मौसमविद् सुजन सुवेदीले बताए ।

वरिष्ठ मौसमविद् मणिरत्न शाक्य प्रशान्त सागरमा ल्यानिनो चक्र चल्दा नेपालमा बढी वर्षा भएको बताउँछन् । ‘प्रशान्त सागरमा ल्यानिनो र इल निनो नामका जलचक्र ३ देखि ५ वर्षमा साइकलजस्तै चल्ने गर्छ,’ शाक्यले भने, ‘ल्यानिनो चक्र चल्दा प्रशान्त महासागरको पूर्वी भेगमा औसतभन्दा कम तातो भएर नेपालमा धेरै वर्षा हुन्छ भने इल निनो चक्र चल्दा प्रशान्त महासागरको पूर्वी भेगमा औसतभन्दा धेरै तातो भई नेपालमा कम वर्षा हुन्छ ।’

शाक्यका अनुसार हरेक जाडो मौसममा पश्चिमी वायु चल्दा समुद्रवरिपरि औसतभन्दा कम तातो भई जलवाष्पलाई ठेल्दै–ठेल्दै इरान हुँदै पाकिस्तान, जम्मु–कास्मिरबाट पश्चिम नेपाल प्रवेश गरी वर्षा हुन्छ । यो हिउँदमा ल्यानिनो चक्र चलेकाले धेरै पानी परेको हो । इल निनो चक्र चल्दा नेपाललगायत दक्षिण एसियाका देशमा कम वर्षा भएर सुक्खा हुन्छ । इल निनो चक्र चलेको वर्ष सन् १९८१–८२ र १९९७–९८ मा नेपालमा धेरै सुक्खा भएको शाक्यले बताए ।

कहिलेसम्म पर्छ पानी ?
बिहीबार उपत्यकासहित पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली हुने अनुमान मौसम पूर्वानुमान महाशाखाको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । तराई क्षेत्रमा आंशिक बदली हुन सक्ने प्रक्षेपण छ । शुक्रबार उपत्यकालगायत पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षा हुने सुवेदीले बताए । शुक्रबार बेलुकाबाट मौसममा सुधार आउने अनुमान छ । यो खबर आजको नयांपत्रिका दैनिकमा छ ।