प्रचण्डले चितवनमा भने ‘अबको बैठकले पार्टी एकता टुङ्ग्याउँछ’


चितवन- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबको बैठकले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने बताएका छन्। भरतपुर महानगरपालिका वडा नं १४, पकौडीमा बिहिबार आयोजित शोकसभामा उनले आफू शुक्रबार काठमाडौँ फर्किएपछि दुई पार्टीका बीचमा हुने बैठकले पार्टी एकता घोषणाको अन्तिम रुप दिने दाबी गरेका हुन् ।

उनले दुई कार्यदलले तयार गरेको प्रतिवेदनमा खासै असहमति नभएको तर विधानमा केही छलफल गरेपछि टुंगो लाग्ने भन्दै उनले भने, ‘पार्टी एकता टुङ्ग्याउने समयमा एक दुई वटा विषयमा गहन छलफल होस् भन्ने चाहना हुन्छ, त्यो हामी टुङ्ग्याउँछौँ ।’ मिडियाबाट आएका कतिपय समाचार भ्रामक रहेको भन्दै उनले पार्टी एकताको गतिमा कुनै अवरोध नरहेको दावी गरे ।

नेपाली जनताले वामपन्थीबाट गरेको अपेक्षा सम्बोधन गर्ने गरी काम गरिने बताउदैँ उनले जनताको अहिलेको अपेक्षा विकास निर्माणमा तीव्रता र अशान्ति एवं अराजकताको अन्त्य भएको र त्यसको पक्षमा आफूहरु रहेको दावी गरे । छिट्टै नीति तथा कार्यक्रम र नयाँ बजेट सरकारले ल्याउने भन्दै उनले त्यसले विकास निर्माणमा नयाँ गति देओस् भनेर छलफल भइरहेको बताए ।

चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसदसमेत रहेका दाहालले तत्काल केही रकम पठाएर २६ वटा जिल्लाका सडक कालोपत्रे गर्ने तयारी भइरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement