एमाले नेता पोखरेलले भने ‘बराबर हैसियतमा पार्टी एकता असम्भव’


काठमाडौं– नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री आनन्द पोखरेलले एमाले–माओवादी केन्द्रबीचको एकता गणितको आधारमा नहुने स्पष्ट पारेका छन् । उनले भने,‘संख्या अर्थात् ५०/ ५० को आधारमा एकता हुंदैन, अनुपात, गणित वा बराबरीको आधारमा हुंदैन, म स्पष्ट पार्न चाहन्छु।’

रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले पार्टी एकता भन्नेबित्तिकै दुवै पार्टी अब एक हुने भएकोले गणितको आधारमा एकता नहुने स्पष्ट पारे । ‘एकता भन्नेबित्तिकै दुवै पार्टी अब एक रह्यो, त्यसैले गणितको आधारमा एकता हुंदैन्’ उनले भने,‘प्रश्न गणितको होईन, हामी योग्य र सक्षम नेताहरुलाई जिम्मेवारी दिन्छौं, संख्या त १/२ जना तलमाथि हुनसक्छ।’

उनले पार्टी एकता बराबरी वा घटी भन्दा पनि दुवै पार्टीका नेताहरुलाई सम्मानजनक रुपमा व्यवस्थापन गर्नेगरि हुने जिकिर गरे । उनले भने,‘एक दुई जना एमालेका वा एक दुई जना माओवादीका साथीहरु बढि घटि हुनसक्छन्, संख्याको आधारमा एकता हुंदैन्।’ मुलुकमा ५० वर्ष नेतृत्व प्रदान गर्नेगरि दुवै पार्टीबीच एकता हुने उनको भनाई थियो ।

पोखरेलले दुई पार्टीबीचको एकता छिट्टै टुँगोमा पुग्ने दाबी गरे । उनले थपे,‘अब धेरै समय लाग्दैन्, चाँडै हामी एकता घोषणा गर्छौ, एकता किन ढिलाई भैरहेको छ भनेर अहिले जनताले सोध्न थालिसके, तपाईहरु पत्रकार मित्रहरुलेपनि एकता कहिले हुन्छ, के कारणले विलम्ब भयो भनेर सोध्दा यसमा त हाम्रो कमजोरी देखियो नि, समृद्ध नेपाल र सुखी नेपालीको नारा अनुसार देशलाई अघि बढाउनुपर्छ, एकताको नाममा अब अलमलिने फुर्सद छैन्।’

प्रतिक्रिया दिनुहोस
Advertisement