एक/दुई दिनभित्रै पार्टी एकताको टुंगो लाग्ने अध्यक्ष प्रचण्डकाे दावी


काठमाडौँ-  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले एकाध दिनभित्रै पार्टी एकताको विषयमा ठोस प्रगति हुने बताउनुभएको छ ।

अध्यक्ष दाहालले भने, “नेकपा(एमाले) र माओवादी केन्द्रबीचको एकता प्रक्रिया सम्पन्न हुने चरणमा रहेको छ । केही दिनभित्रै हामी त्यसलाई ठोस निष्कर्षमा पु¥याउछौँ र विश्व समुदायलाई नयाँ सन्देश दिन्छौँ ।”

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज विभिन्न पेशागत महासंघ र ट्रेड यूनियनसँग आबद्ध संघ–संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कार्ल माक्र्सको द्विशतवार्षिकीको अवसरमा नै एकता प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्या‍उने तयारी भइरहेको बताए ।

एकता प्रक्रिया नेपाली कम्युनिस्ट, नेपाली जनता र विश्वका श्रमजीवी जनताको सम्पत्ति भइसकेको उल्लेख गर्दै उनले यस अभियानबाट कोही पनि पछाडि फर्कने अवस्था नभएको स्पष्ट पारे ।

“एकता प्रक्रिया अगाडि बढ्दैन कि, यो बीचमै रोकिन्छ कि भनेर भ्रम पाल्नु आवश्यक छैन । प्रक्रिया धेरै अगाडि बढिसकेको छ । विश्व श्रमिक दिवसका दिन यस्तो जानकारी गराउन पाउँदा माओवादी केन्द्र र पार्टी एकता संयोजन समितिको तर्फबाट मलाई गौरव लागेको छ”–अध्यक्ष दाहालले भने ।

नेपालका लागि दुईतिहाई मतसहितको सरकार बनाउने र समाजवाद उन्मुख संविधान कार्यान्वयन गर्दै आर्थिक समृद्धि र विकासको महान् अभियान पूरा गर्ने अवसर प्राप्त भएको भन्दै उनले यसलाई कुनै पनि हालतमा चुक्न नदिइने प्रतिबद्धता व्यक्त गरे ।

इतिहासमा बिरलै प्राप्त हुने अवसरलाई पूर्णरुपमा सदुपयोग गरेर सामाजिक न्यायसहितको आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्नैपर्ने अध्यक्ष दाहालको कथन थियो । लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त राजनीतिक अधिकारलाई संस्थागत गर्दै श्रमजीवी वर्गको हित रक्षाका लागि आफूहरुले हदैसम्मको प्रयास गर्ने उनको भनाई थियो ।

धनी र गरिबबीचको खाडल नहुने गरी सबैलाई समान अवसर प्रदान गर्ने गरी संविधानमा नै समाजवाद उन्मुख राज्य प्रणालीको परिकल्पना गरिएको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष दाहालले भने , “नेपाली जनताको चाहनालाई हामी सम्बोधन गर्दै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्छौँ ।”

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा(एमाले) का वरिष्ठ नेता झलनाथ खनालले लामो संघर्षबाट प्राप्त राजनीतिक अधिकारलाई संस्थागत गर्दै आर्थिक विकासको चरणमा प्रवेश गर्नैपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस
Advertisement