पशुपतिशमशेर राणा भन्छन् -सरकार-कांग्रेस दुवै असफल, राजतन्त्र फर्किन सक्छ


काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर राणाले सरकार र प्रमुख विपक्षी दल नेपाली कांग्रेस दुवै असफल भएको दाबी गरेका छन् । ‘यो एक वर्षमा सरकार र प्रमुख प्रतिपक्षी दल कांग्रेस पनि असफल भए’, उनले भने, ‘उनीहरुले अवसरको सदुपयोग गर्न सकेनन् ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै अध्यक्ष राणाले सरकार र प्रमुख प्रतिपक्षी दल कांग्रेसले मौकाको सदुपयोग गर्न नसकेको आरोप लगाए । ‘सरकार र कांग्रेस दुवै असफल भए । अब हाम्रो पालो आयो,’ उनले भने, ‘दुवै पक्ष असफल भएकाले मुलुकमा राजतन्त्र फर्किन सक्छ ।’साक्षात्कारमा बोल्दै उनले यस्तै भए नेपालमा राजतन्त्र पनि फर्किन सक्ने दाबी गरे । ‘राजतन्त्र फर्किन सक्छ’, राणाले ओली सरकारलाई दुई तिहाई ल्याएको भन्दै मान्नैपर्ने तर्क गर्दै भने, ‘ओली सरकारलाई मान्नैपर्छ । २०४७ सालपछि पहिलोपटक दुईतिहाइको बहुमत ल्याउन सफल भएको छ । ओलीजीको लागि यो मौका हो ।

राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले दुईतिहाइको मौकाको सदुपयोग गर्न नसकेको आरोप लगाए । ‘उहाँ यो मौका प्रयोग गर्न असफल हुनुभयो । यो एक वर्षमा सरकारले के–के राम्रा काम भए, पाना पल्टाएर र्हेयौं भने मौका खेर फालेको पाइन्छ’, राणाले भने, ‘सरकारले यो एक वर्षमा हाँसिल गरेका उपलब्धि शून्य छ ।’ व्यापार घाटा पनि डरलाग्दो रहेको उनको भनाई छ । ‘आयातको दश प्रतिशत जति पनि निर्यात भएको छैन । हरेक क्षेत्रमा सरकारले खास केही प्रगति गर्न सकेको छैन् । काम केही भएकै छैन’, राणाले भने, ‘ प्रधानमन्त्री ओलीले भ्रष्टाचारमुक्त देश बनाउँछु भनेपनि व्यवहारमा त्यस्तो भएको देखिएन ।’

राणाले बूढीगण्डकीको ठेक्का प्रक्रिया नै नगरी एउटा कम्पनीलाई दिएकोमा प्रश्न गरे । ‘यसरी दिँदा भ्रष्टाचार भयो कि भएन ? म प्रश्न गर्न चाहन्छु’, उनले भने, ‘वाईडबडी जहाज खरिद गर्दा पनि ठूलो घोटाला भएको छ ।’  कुटनीतिक क्षेत्रमा पनि सरकारले सन्तुलन कायम गर्न नसकेको राणाले आरोप लगाए ‘अहिले कुटनीतिक सन्तुलन गुमेको छ । हामी एकतिर ढल्केका छौं’, राणाले भने, ‘भेनेजुयला प्रकरणमा वक्तव्य जारी गरेर अमेरिकासँग जोरी खोज्ने काम भएको छ । भेनेजुएलासँग नेपालको दौत्य सम्बन्ध छ छैन मलाई सन्देह लाग्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement