पहुँचका भरमा पीसीआर जाँच : भनसुन गर्न नसक्नेहरू रिपोर्ट कुरेको कुर्‍यै

पहुँचका भरमा पीसीआर जाँच : भनसुन गर्न नसक्नेहरू रिपोर्ट कुरेको कुर्‍यै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी /हेटौंडा – सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा भदौ १ गते बैंकका कर्मचारीमा पहिलो पटक कोरोना देखियो। ग्लोबल आईएमईका एक पुरुष कर्मचारीले साउन ३० गते स्वाब दिएका थिए। त्यसको रिपोर्ट भदौ १ गते पोजिटिभ आएको हो।

धनगढीमा दुईवटा शाखा रहेको ग्लोबल आईएमईका ३९ कर्मचारीले भदौ १ गते नै स्वाब दिए। त्यसको रिपोर्ट दुई दिनपछि आयो। नजिकै रहेको अत्तरिया शाखाका ११ कर्मचारीको स्वाबको रिपोर्ट आउन भने नौ दिन कुर्नुपर्‍यो। ‘बैंक अत्यावश्यक सेवाभित्र पर्छ। पैसा समात्नै पर्छ। भीडभाड भए पनि काम गर्नै पर्छ’, ग्लोबल आईएमईका सुदूरपश्चिम प्रदेश प्रमुख मुकुन्द भट्ट भन्छन्, ‘तर, यसरी ढिला रिपोर्ट आएकाले कर्मचारी नौ दिनसम्म मानसिक तनावमा परे।’

सानिमा, कृषि विकास, सिभिल बैंकका कर्मचारीमा कोरोना पुष्टि भएपछि नेपाल राष्ट्र बैंकसँगको समन्वयमा विभिन्न बैंकका थप १ सय ५ जनाले स्वाब दिए। तर, उनीहरूको रिपोर्टका लागि पनि पाँच दिन लाग्यो।

नेता र कर्मचारीको फटाफट

यता मकवानपुरको हेटौंडा–८ का एक युवाले पीसीआर परीक्षण गर्न भदौ ३ गते स्वाब दिए। त्यसको रिपोर्ट एक सातापछि भदौ १२ गते मात्र आयो। रिपोर्ट नआएसम्म उनी घर र बजार ओहोरदोहर गरिरहेका थिए। ‘मेरो रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा छु’, उनी भन्छन्, ‘छिट्टै रिपोर्ट आएको भए अरू धेरैसँग सम्पर्क हुने थिएन।’

भदौ ९ गते स्वाब दिएकी हेटौंडा–४ की एक महिला पीसीआर रिपोर्टको प्रतीक्षामा छिन्। ६ दिनसम्म पनि रिपोर्ट नआउँदा तनावमा रहेकी उनी भन्छिन्, ‘रिपोर्ट नआउँदा काममा जान पनि पाएको छैन। अझै कति दिन लाग्ने हो थाहा छैन।’

नेता र कर्मचारीलाई भने यो कुरा कमै मात्र लागू हुन्छ। बागमती प्रदेश प्रमुख कार्यालयका सचिवले स्वाब दिएको भोलिपल्ट नै रिपोर्ट आयो। उनको रिपोर्ट पोजिटिभ आएपछि परिवारका अन्य सदस्यको पनि त्यसै दिन स्वाब संकलन भयो र रिपोर्ट पनि त्यसै दिन आयो।

प्रदेश सरकारका मन्त्रीहरू, हेटौंडामा रहेका प्रदेशसभा सदस्यहरू, प्रदेश सरकार सचिवहरू तथा अन्य कर्मचारी, व्यवसायीले पनि धमाधम पीसीआर परीक्षण गराएका छन। तर उनीहरूले स्वाब दिएको बढीमा दुई दिनभित्र प्रयोगशालाले रिपोर्ट दिएको छ।

प्रयोगशालामा नेता र प्रशासकले आफ्नो मान्छेको स्वाब छिटो परीक्षण गरी सार्वजनिक गर्न दबाब दिँदा अरूको परीक्षणमा ढिलाइ भएको हो। ‘स्वाबको रिपोर्ट छिटो सार्वजनिक गर्न मन्त्रीदेखि अधिकृतसम्मको फोन आउँछ। फोनमै अरु कुरा थाहा छैन फलानो रिर्पोट छिटो आउनुपर्छ भन्नुहुन्छ’, प्रयोगशालामा कार्यरत एक स्वास्थ्यकर्मी भन्छन्।यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।