मिर्गौला पीडित प्रधानमन्त्रीले मिर्गौला पीडितको समस्या बुझेनन् : पीडित


काठमाडौं – सरकारले मिर्गौला पीडितहरुलाई उपलब्ध गराउँदै आइरहेको सहयोग पुर्ववत् ढंगले उपलब्ध गराउन माग गर्दै पीडितहरुले प्रधानमन्त्री निवास बालुवाटारमा प्रद्धर्शन गरेका छन् । मिर्गौला पीडित सरोकार समाजको नेतृत्वमा सोमबार बालुवाटार पुगेका पीडितहरुले जीविकोपार्जन वापतको मासिक भत्ता र डायलासिसमा दिँदै आएको सुविधा यथावत राख्न माग गरेका हुन् ।

१४ बुँदे ज्ञापनपत्र लिएर बालुवाटार पुगेका पीडीतहरु प्रधानमन्त्रीसँग भेट्न नपाएपछि पीडितहरुले प्रधानमन्त्री स्वयम् मिर्गौलापीडित भएर पनि आफुहरुको समस्या नबुझेको भन्दै उनीहरुले आन्दोलन गर्ने चेतावनी नै दिएका छन् । प्रधानमन्त्रीले भेट्ने समय नदिएको भन्दै मिर्गौला पीडितहरुले आन्दोलनको घोषणा गरेका हुन् । आफुले निजी अस्पतालमा उपचार गराएर राज्यको ढुकुटी सकेको तर पीडितका लागि सामान्य सुविधा पनि कटौती गरेको भन्दै उनीहरुले प्रधानमन्त्रीप्रति आक्रोश पोखेका मिर्गौला पीडित सरोकार समाजका अध्यक्ष बलराम सुवेदीले बताए ।

पीडितहरुले जीविकोपार्जन वापतको मासिक भत्ता ५ हजार उपलब्ध गराउनुपर्ने , निशुःल्क हेमोडायलाइसिस, विरामी कुरुवाको उचित बसोबासको व्यवस्था, डायलाइसिस सुविधाको रकम तत्काल उपलब्ध गराउनुपर्ने लगायत १४ बुँदे माग गरेका छन् । प्रधानमन्त्रीसँग भेट गर्न नपाएपछि बालुवाटारबाट नाराबाजी गर्दै माइतीघरमण्डलसम्म आएका पीडितहरुले माग सम्बोधन नभए जस्तोसुकै आन्दोलन गर्न तयार रहेको चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement