प्रधानमन्त्री ओली ढोरपाटनको अवलोकन गर्दै, कर्णाली प्रदेशको बैठकमा सहभागी हुने


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली बागलुङको ढोरपाटन शिकार आरक्षक्षेत्रको अवलोकन गर्न त्यहाँ पुगेका छन् । ढोरपाटनको अवलोकन पछि प्रधानमन्त्री ओली आजै कर्णाली जाने भएका छन् । उनी दिउँसो ४ बजे बस्ने कर्णाली प्रदेशको मन्त्रिपरिषद्को बैठकमा सहभागी हुनेछन् ।

प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा बस्ने बैठकमा चीनसँगको नाका खुलाउने र कर्णाली प्रदेशको योजनाका विषयमा छलफल गर्ने तयारी छ । कर्णाली प्रदेशले आयोजना गरेको रारा पर्यटन वर्षको प्रधानमन्त्री ओलीले भोलि उद्घाटन गर्ने भएका छन् । त्यसअघि बिहान उनले मुगुको राराबाटै राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओलीले कर्णालीमा एक बालिकालाई विद्यालय भर्ना गर्ने तयारी गरेका छन् । देशबाट निरक्षरता उन्मूलनको लागि सबै जनप्रतिनिधिले जस्तै आफूले पनि एक बालिकालाई विद्यालय लगेर नाम लेखाउने प्रधानमन्त्रीले यसअघि नै घोषणा गरेका थिए । भर्ना अभियान प्रभावकारी बनाउन यसवर्ष प्रधानमन्त्री सहित मन्त्री, सांसद र प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिले बालबालिकालाई विद्यालय लगेर नाम लेखाउने कार्यक्रम तय भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement