पोखराका वडा कार्यालयमा श्रृंखलाबद्ध चोरी गर्ने थापा पक्राउ


पोखरा – पोखरा महानगरपालिका वडा कार्यालयमा श्रृंखलाबद्ध चोरी गर्ने एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार पत्रकार सम्मेलन गरेर वडा कार्यालयमा चोरी कार्यमा संलग्नलाई सार्वजनिक गरेको हो ।

पोखरा महानगरका ११ वटा वडा चोरेको आरोपमा वडा प्रहरी बैदामले काठमाडौं ११ का ५१ वर्षीय किशोर थापालाई पक्राउ गरी सार्वजनिक गरेको छ । थापा यसअघि पनि काठमाडौं केन्द्रीय कारागारमा दुई पटकसम्म थुनिएको व्यक्ति भएको प्रहरीले जनाएको छ । पहिलो पटक ५ वर्ष र दोस्रो पटक ३ वर्ष सजाय भोगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

थापाले वडा कार्यालयमा सुरक्षा गार्ड नहुँदा चोरी गर्न सजिलो हुने बयान दिएको प्रहरीले बताएको छ । काठमाडौं महानगरपालिका ११ स्थायी ठेगाना भएका थापा पोखरा महानगरपालिका १० कालिकाचोकमा डेरा गरी बस्दै आएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार थापाले चोरी गरेका सामान डेरा नजिकैको निमार्णाधीन भवनमा लुकाउँथे । थापाले चोरी गरेका सामान बिहानको समयमा काठमाडौं पु-याउँदै आएका थिए ।

गाउँमा सवारीसाधनको पहुँच नहुने साथै चोरी गर्न पनि गाह्रो पर्ने भएकाले सहरलाई चोरले निशाना बनाउँदै आएको प्रहरीले जनाएको छ । थापाले चोरीका सामान काठमाडौं महानगरपालिका १४ कंलकी स्थित ‘कम्प्युटर सोलुसन’मा बेच्ने गरेको खुल्न आएको प्रहरीको अनुसन्धानको क्रममा खुलेको छ ।

थापाले चोरी गरेर कोठामा लुकाइ राखेको अवस्थामा टोसिबा कम्पनीको ल्यापटप र चार्जर १ थान, सोनी कम्पनीको क्यामेरा १ थान, फलामको रड  ड्राइभर १ थान, कालो पंजा २ जोर, कालो माक्स १ थान, सेतो रंगको ट्रयाक २ थान, निलो ज्याकेट २ थान, निलो टिसर्ट १ थान, टोपी २ थान समेत बरामद गरेको छ ।  प्रहरीले गोपालीले सञ्चालन गर्दै आएको कम्प्युटर सोलुसनबाट विभिन्न कम्पनीका ल्यापटप ३ थान, सिपियु ९ थान र मोनिटर १७ थान चोरिका सामान बरामद गरेको छ ।

प्रहरी अनुसन्धानले उक्त कम्प्युटर सोलुसनमा चोरीका सामान बिक्री हुने गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।  थापाले १ वर्षको अवधिमा पोखराका ११ वडामा चोरी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement