काठमाण्डु– युएईको विमान कम्पनी फ्लाई दुबईले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सिधा उडान गर्ने भएको छ ।विमानस्थल सञ्चालनमा आएको ३ वर्षपछि नियमित अन्तरराष्ट्रिय उडान हुने भएको हो ।
दुबईस्थित वायुसेवा कम्पनी फ्लाई दुबईले आगामी असोज ७ गतेदेखि दैनिक उडान सञ्चालन गर्ने गरी टिकट बुकिङ खुला गरेको छ । यसैसाथ पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट पहिलोपटक नियमित अन्तरराष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुने भएको हो ।
यसअघि विमानस्थलबाट चीन, भुटानलगायत मुलुकमा चार्टर उडान तथा भारततर्फ आकस्मिक मेडिकल उडान मात्र हुँदै आएका थिए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दुबई उडानलाई पोखराको अन्तरराष्ट्रिय पहिचान विस्तार गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा लिएको बताए ।
“यूएईसम्म नियमित उडान सञ्चालन हुनुले पर्यटन, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुग्नेछ,” उनले भने ।
सन् २०२३ जनवरी १ मा उद्घाटन गरिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय व्यावसायिक उडानको सुरुआतसँगै पोखरा मुलुकको दोस्रो प्रमुख अन्तरराष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा थप स्थापित हुने अपेक्षा गरिएको छ ।
फ्लाई दुबईले सञ्चालन गर्ने उक्त सेवाका लागि यात्रुहले कम्पनीको आधिकारिक वेबसाइट तथा मान्यता प्राप्त ट्राभल एजेन्सीमार्फत टिकट बुकिङ गर्न सक्ने जनाइएको छ ।




प्रतिक्रिया