घोषणापत्र बमोजिम नीति तथा कार्यक्रमको तयारी


काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले १ जेठमा सरकारले तय गरेको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएकी छन् । संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा उनले आर्थिक वर्ष २०७५-७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छिन् ।

सरकारले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनले चुनावमा तयार पारेको घोषणापत्रअनुसार नीति कार्यक्रम तयार पारिरहेको छ । बैठकमा आगामी १ जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका संसद् सचिवालयले तयार गरेको छ ।

नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भए पनि छलफल छुट्टाछुट्टै हुने संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिए । संवैधानिक व्यवस्थाअनुसार आगामी १५ जेठमा आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुपर्छ । बजेट आउनुभन्दा कम्तीमा १५ दिनअघि सरकारको नीति तथा कार्यक्रम ल्याई छलफलसहित बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले आगामी २३ वैशाखमा संघीय संसद्का दुवै सदनको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपति भण्डारीलाई सिफारिस गरिसकेको छ । सरकारको सिफारिसअनुसार अधिवेशन आह्वान गर्ने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

एमाले नेता वामदेव गौतमको समितिले सिफारिस गरेअनुसार सरकारले त्यसमा केही हेरफेर मात्रै गरेर नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । समृद्धिका लागि भन्दै गठबन्धनका तर्फबाट गौतमको संयोजकत्वमा समिति गठन गरेको थियो ।

एमालेअ अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले महŒवकांक्षी र दीर्घकालीन महŒव राख्ने कार्यक्रम समेट्ने गरी नीति तथा कार्यक्रम तयार पारिरहेको छ । तत्कालीन र दीर्घकालीन योजनाहरू समेटेर नीति तथा कार्यक्रम आउने एमाले उपाध्यक्ष गौतमले जानकारी दिए । गौतमले भनेकाे खबर अाजकाे राजधानी दैनिकमा छ ।

‘गठबन्धनका तर्फबाट निर्वाचन घोषणापत्रमा प्रस्तुत गरिएको विषयलाई सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ । जनतासँग गरेका प्रतिबद्धतालाई पूरा गर्नुपर्ने म्यान्डेट पाएकाले सरकारले सोहीअनुसार तयारी गर्नेछ ।’ २३ वैशाखमा बस्ने बजेट अधिवेशन सुरु भएपछि संसद् बैठक सञ्चालनसम्बन्धी नियमावली पारित गर्ने कार्यसूची रहेको सभामुख कुष्णबहादुर महराले जानकारी दिए ।

उनका अनुसार बैठकको खाका तयार पार्न दलका प्रतिनिधिहरूसँग छलफल थालिएको छ । सरकारले पेस गरेका विधेयकसमेत सदनमा टेबुल हुनेछन् । महराका अनुसार २५ वैशाखमा प्रतिनिधिसभाले आफ्नो नियमावलीको मस्यौदामा छलफल गरेर पारित गर्ने कार्यसूची राखेको छ । नियमावली परितसँगै संसदीय समितिहरू गठनको प्रक्रिया पनि सुरु हुनेछ ।

२६ वैशाखबाट प्रि–बजेटको छलफल गर्ने कार्यसूची प्रस्ताव गरिएको संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार १ जेठमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएपछि एक साता छलफल गराउने तयारी सचिवालयले गरेको छ । नीति तथा कार्यक्रमको छलफलका क्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनेछन् । बजेटको कार्यसूचीका साथै कानुन निर्माण प्रक्रियालाई पनि सँगै लगिने सभामुख महराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement