अहिलेको युद्ध हामीले जित्छौं, अदालतले सही फैसला गर्छः प्रचण्ड


काठमाण्डु – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

मंगलवार काठमाण्डुमा जनयुद्धको हस्ताक्षर नामक पुस्तकको विमोचन गर्दै अध्यक्ष प्रचण्डले धेरै दुःख गरेर पार्टी एकताबद्ध गरिएको उल्लेख गर्दै त्यसलाई विभाजन गर्न प्रधानमन्त्री ओलीले षड्यन्त्र गरेको आरोप लगाएका हुन् ।

‘एकताको झण्डा हामीले उठाएका छौं । केपी जीले फुटको बाटो रोज्नुभयो, विघटन र बिसर्जनको बाटो रोज्नुभयो,’ उनले भने, ‘उहाँले पार्टीलाई पनि फुटतिर लैजानुभयो । संविधान र लोकतन्त्रलाई पनि बिसर्जन गर्ने बाटोतिर जानुभयो । मुद्दा त उहाँले हारिसक्नु भयो । तर फेरि पनि व्यवहारिक रुपले त्यसलाई परास्त गर्नका लागि यो युद्ध हामीले जित्नु पर्छ ।’

संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले सही फैसला गर्नेमा आफु विश्वस्त रहेको उल्लेख गर्दै प्रचण्डले ५ पुसपछि आफूहरु रक्तपातविहीन नयाँ प्रकारको युद्धमा रहेको बताए । ‘हाम्रो अदालतप्रति विश्वास छ, सही फैसला गर्छ भन्ने विश्वास छ,’ उनले भने ।

संसद विघटनलाई प्रतिगमन भन्दै प्रचण्डले त्यसविरुद्ध हुँदै आएको आन्दोलनलाई शान्तिपूर्ण युद्धको संज्ञा दिए । ‘अहिलेको युद्ध हामीले जित्नु छ । हामीले नै जित्छौं,’ प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement