सर्वदलीय बैठकबाट राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने प्रधानमन्त्री प्रचण्डको रणनीति


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाउने भएका छन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न सर्वदलीय बेठक बोलाउने तयारी गरेका हुन् ।

सर्वदलीय बैठक बसेर राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने रणनीति प्रचण्डको छ । राष्ट्रपतिका लागि फागुन १३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ । त्यो भन्दा अघि नै दलहरुबीच उम्मेदवारबारे साझा धारणा बनाउन प्रधानमन्त्रीले तयारी गरेका हुन्। नेकपा माओवादी केन्द्रले नेकपा एमोलाई राष्ट्रपति निर्वाचनमा सहयोग नगर्ने अडान राखेको छ ।

राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसलाई सहयोग गर्ने माओवादीको तयारी छ । यसबारे माओवादी र कांग्रेसबीच निरन्तर छलफल पनि भइरहेको छ । यता नेकपा एमालेले भने आफूले उठाएको उम्मेदवारमा नै राष्ट्रिय सहमति जुटाउनु पर्ने बताउँदै आएको छ ।

आज मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले उठाएको उम्मेदवार नै राष्ट्रपति पदमा निर्वाचित हुने बताएका छन् ।आइतबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले नेकपा एमालेले उठाएको उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने दाबी गरेका हुन् ।

हालको सत्ता गठबन्धन जन्मँदाखेरि नै गठबन्धनको जन्मकुण्डलीमा राष्ट्रिपति कुन पार्टीबाट बन्नेबारे लेखिएर आएको उनले खुलासा गरे । ‘राष्ट्रपति को हुन्छ पहिले नै तय भएको छ । अहिलेको समीकरण जन्मँदा त्यसको जन्मकुण्डलीमा नै लेखेर आएको छ । यसमा माओवादीले साथ दिन्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement