काठमाण्डु- सर्वोच्च अदालतले तत्कालीन नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध दायर युद्ध अपराधसम्बन्धी मुद्दामा आज निर्णय सुनाउने भएको छ।
मुद्दाको सुनुवाइ कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र शान्तिसिंह थापाको संयुक्त इजलासमा हुने तय भएको छ।
यसअघि गत माघ २८ गते सोही इजलासमा निर्णय सुनाउने पेशी तोकिएको भए पनि निर्णय मिति आजका लागि सारिएको थियो।
माओवादीका पूर्वलडाकु लेनिन विष्टले जनयुद्धकालमा आफूहरूलाई बाल सैनिकका रूपमा भर्ती गरी पछि अयोग्य लडाकु घोषणा गरेर शिविरबाट निकालिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
रिटमा तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीले बाल सैन्यका रूपमा प्रयोग गरिएका व्यक्तिहरूलाई विस्तृत शान्ति सम्झौतापछि पनि न्याय नदिएको आरोप लगाइएको छ।
विष्टले आफूहरूमाथि भएको व्यवहारलाई युद्ध अपराधको संज्ञा दिँदै बाल सैनिकको पहिचान, परिपूरण, क्षतिपूर्ति र न्याय सुनिश्चित गर्न अन्तरिम आदेशको माग गरेका छन्। रिटमा माओवादी अध्यक्ष प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई विपक्षी बनाइएको छ।
यसअघि रिट दर्ता गर्न खोज्दा सर्वोच्च प्रशासनले दरपिठ गरेपछि त्यसविरुद्ध परेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले दरपिठ बदर गरी रिट दर्ता गर्न आदेश दिएको थियो। त्यसपछि विष्टले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।




प्रतिक्रिया